आजका युवा भोलिको नेता हुन भन्ने भनाइलाई अनुशरण गर्ने हो भने नेता बन्न केही समय लाग्छ । तर समाजमा युवाले नेतृत्व लिनुपर्छ भन्ने सामाजिक मनोविज्ञान धेरै पहिलेदेखि छ । यही सोच अहिले नेपाली समाजमा व्याप्त छ । हो, युवा नेतृत्व अहिलको आवश्यकता हो । युवामा जोश, जाँगर र दृढ इच्छाशक्ति हुन्छ । एकचोटी गहनरूपमा सोचौँ त के जोश र जाँगर भएर मात्र नेतुत्व गर्न सकिन्छ ? नेतृत्व गर्न कठिन छ । तर फेरि नेतृत्व भनेको मानिस हुर्कँदैदेखि नै सामाजिक क्रियाकलापमा सहभागी हुँदै नेतृत्वको विकास हुन्छ भन्ने विज्ञको मत छ ।
नेतृत्व विकासमा समाजको अहम् भूमिका हुन्छ जसका कारण कुनै पनि व्यक्ति जन्मँदै ऊ नेता भएर जन्मिएको हुँदैन । उसलाई नेता समाजले बनाउँछ । यसमा हामी आफैँ पनि देखे–भोगेका छौँ । समाज र राष्ट्रलाई सही मार्गदर्शन गर्ने र अन्तर्राष्ट्रिय देशहरूसँगको सामाजिक, सांस्कृतिक, आर्थिक, भूराजनीतिक समस्यालाई मिलाउने, सामाजिक सद्भावलाई अझ समुधर सम्बन्ध कायम गर्ने नेतृत्व वर्गको काम हो । कुनै पनि समाज, देशलाई सक्षम बनाउनका लागि नेतृत्वको भूमिका हुन्छ । जर्ज टेरीले भनेका छन् । नेतृत्व भनेको सामूहिक उद्देश्य प्राप्तिका लागि भित्रैदेखि इच्छा जगाउन मानिसलाई प्रभावित गर्ने कार्य हो । यसरी सामूहिक उद्देश्य प्राप्तिका लागि परिस्थितिअनुसार अनुयायीहरूलाई प्रभावित गर्न सक्ने क्षमता वा गुणलाई नेतृत्व जनाउँछ । उनको भनाइलाई अनुशरण गर्ने हो भने पनि अबको युवा नेतृत्वमा कसरी सामूहिक विकास गर्न सकिन्छ भन्ने भावना हुनुपर्छ । सामूहिक विकास गर्न, सामाजिक खोज अनुसन्धान गर्नका लागि पनि संरचनागत क्षमता विकास हुनुपर्छ ।
संरचनागत क्षमताको विकास
मानिस जन्मँदा एउटा काँचो माटो हो भन्ने विभिन्न समाजशास्त्री र विज्ञको मत छ । जब हुर्कँदै जान्छ सामाजिक संरचनाअनुसार उसको व्यक्तित्व विकास हुन्छ । हाम्रो नेपाल विभन्नि जातजाति, भाषासँगै भौगोलिक विविधता भएको समाजमा विभिन्न सामाजिक, सांस्कृतिक परम्परा र आआफ्नै सामाजिक मनोविज्ञान छ । कुनै व्यक्तिको क्षमता विकासमा त्यो समाजको सामाजिक, सांस्कृतिक, धार्मिक तथा भौगोलिक विविधता अनुसार उसको व्यक्तित्व विकास हुन्छ । फलस्वरूप त्यो व्यक्तिको क्षमताको विकास हेर्नका लागि उसको सामाजिक संरचना कस्तो थियो, त्यसले उसको व्यक्तित्वको विकास भएको छ या छैन हेर्नुपर्छ । समाजमा भएका विभिन्न सामाजिक संरचना, उसको शिक्षा, उसको पारिवारिक पृष्ठभूमि, आर्थिक, सामाजिक सांस्कृतिक परम्पराले प्रभाव पारेको हुन्छ । यो नै उसको संरचनागत व्यक्तित्वको विकास हो जसले समाज, क्षेत्र र राष्ट्रको विकास गर्न सक्छ । व्यक्तित्व विकासमा व्यक्ति, संगठन र समाजको समग्र संरचनाले प्रभाव पारेको हुन्छ । यो ध्रुवसत्य हो ।
क्षमता विकास यस्तो प्रक्रिया हो जसमा व्यक्ति, संस्था र समाजले समग्ररूपमा विकासको नतिजाहरू प्राप्त गर्न समयसँगै क्षमतालाई बाहिर निकाल्ने, सुदृढ गर्ने, सिर्जना गर्ने, अनुकूलन गर्ने गर्दछ । कुनै पनि व्यक्तित्वमा क्षमता विकासका सूचकको रूपमा हामीले उसको क्षमता विकास भएको छ कि छैन भन्न सक्छौँ । उसको व्यक्तिगतरूमा प्रशिक्षण, अनुभव, प्रेरणा र प्रोत्साहन गर्न सक्ने क्षमता उसको व्यक्तिगत सिप, ज्ञान र कार्यसम्पादनमा सुधार गर्ने सक्ने क्षमता पर्दछ ।
अब उसको संगठनात्मकरूपमा क्षमता कस्तो छ त भनी हामी उसका संगठन सञ्चालन गर्ने रणनीति, योजना, नियम र विनयम, साझेदारी नेतृत्व, संगठनात्मक राजनीति र शक्ति संरचना र संगठनात्मक प्रणाली, त्यसको भूमिका र जिम्मेवारीलाई कसरी सुदृढ गर्न सक्छ या सक्दैन भन्ने हेर्न सक्छौँ। त्यसैगरी बाह्य वातावरणीय प्रभावलाई सफल बनाउनका लागि उसले आर्थिक वृद्धि, वित्तीय, श्रम बजार, राजनीतिक प्रतिस्पर्धा, वर्ग संरचना र सांस्कृतिक पक्षसहित समग्ररूपमा आर्थिक, राजनीतिक, वातावरणीय र सामाजिक कारकलाई सुसंगत र पारस्परिकरूपमा सुदृढ गर्ने शैलीमा छ या छैन यसलाई सम्बोधन गर्ने नीतिका वैचारिक र व्यावहारिक खाका निर्धारण गर्न सक्नुपर्छ ।
यसलाई अध्ययन गर्दा यो अनुशरण गर्न सकिन्छ कि युवा नेतृत्वको क्षमता विकासले समावेशी, सहभागितामूलक र दिगो संरचनागत आधारमा, देश विकासका उद्देश्य प्राप्त गर्न व्यक्ति, समूह, संस्था र समाजसँग सामाजिक अन्तरक्रिया र प्रक्रिया अगाडि बढाउनुपर्छ । समाजमा युवा नेतुत्व देशको आवश्यकता हो भन्ने सामाजिक मनोविज्ञान छ । यो राम्रो हो । नेतृत्व युवाले लिने हो तर युवा नेतृत्वमा संरचनागत क्षमताको विकास भएन भने हामीले सोचेको विकास र समृद्धिको देश बन्न सक्दैन । यसका लागि पनि हामी युवा जमात र समाजले अबको युवा नेतृत्वमा माथिका संरचनागत परिपक्वता र क्षमता छ या छैन पहिचान गर्न सक्नुपर्छ ।
कुनै पनि नेतृत्वमा भावनात्मक क्षमता चाहिन्छ । नेतृत्वसँग समाजले के महसुस गरिरहेको छ ? त्यो महसुस गर्न सक्ने हृदय र वास्तविक सामाजिक समस्यासँग समाज जोड्न सक्ने दृढ इच्छा भएको हुनुपर्छ । अबको नेतृत्वमा बौद्धिक र भौतिक क्षमता भएको, समय व्यवस्थापन गर्ने हुनुपर्छ । नेतृत्व क्षमतामा विभिन्नखाले सामुदायिक गठबन्धन एकदम आवश्यक छ । यो राष्ट्रको विकास गर्ने सामुदायिक गठबन्धन कार्यसिद्धान्त हो । यससम्बन्धी युवा नेतृत्वको ज्ञान हुनुपर्दछ ।
सामुदायिक गठबन्धन कार्यसिद्धान्त
क्षमता विकासका लागि राजनीतिक मुद्दाहरूप्रति धेरै सचेतता र संवेदनशीलता चाहिन्छ । क्षमता विकासमा समाजमा भएका विभिन्न शक्ति संरचनाहरूले धेरै प्रभाव पार्छ । समाज अनेकौँ संरचनाले जेलिएको हुन्छ । तिनै संरचनाले व्यक्तिको क्षमता विकास गर्ने हो । जसले एक सामाजिक प्रतीकका रूपमा स्थापित गर्छ । यस्ता सामाजिक संरचनाभित्र भएका शक्ति र स्वार्थका लागि समाजमा समुदाय, संगठनभित्र द्वन्द्व त भैरहन्छ । यसलाई सम्बोधन गर्ने सामुदायिक गठबन्धन कार्यको सिद्धान्तले पनि धेरै प्रभाव पार्छ । यसको मिहीनरूपमा अनुशरण गर्नुपर्छ । यहाँ सामुदायिक गठबन्धन कार्यसिद्धान्त विभिन्न संगठनबीचको सामूहिक संरचनागत कार्य गर्ने एक स्वरूप हो । सामुदायिक गठबन्धन एक संरचित व्यवस्था हो जहाँ सबै सदस्यले साझा लक्ष्य र उद्देश्यमा मिलेर काम गर्ने मान्यता बोकेको हुन्छ । यो एक औपचारिकरूपमा बहुउद्देश्यीय र दीर्घकालीन गठबन्धन मान्यता बोकेको कार्यसिद्धान्त हो। जसले स्थानीय वा क्षेत्रीयरूपमा काम गर्छ । सामुदायिक गठबन्धनमा व्यक्ति र संगठनहरूद्वारा प्रतिनिधित्व गरिएका सामूहिक संगठन हो जसले लक्ष्य हासिल गरेपछि पनि लामो समयसम्म एकजुट हुने मान्यता बोकेको हुन्छ । यसका धेरै सिद्धान्तको अनुगमन गर्ने नै युवा नेतृत्वको क्षमता विकास गर्नु हो ।
सामाजिक उत्तरदायित्व र विकासको खाका
डेभिस तथा ब्लमस्टोर्मका शब्दमा सामाजिक उत्तरदायित्वले यस्तो जनाउँछ कि जुन दायित्व भनेको आफ्नो हितको साथसाथै सम्पूर्ण समाजकै सुरक्षा एवं कल्याणमा सुधार गर्नका लागि कार्यहरू गर्नु हो । यहाँ आफ्नो हित भनेको आत्मरक्षा हो । अबको युवा नेतृत्वको संरचनागत क्षमताको विकासमा सामाजको सांस्कृतिक, धार्मिक संस्कार र परम्पराका आधारमा सामाजिक उत्तरदायित्व हुनुपर्छ भने भौगोलिक, भाषिक विविधता र सामाजिक मनोविज्ञानको विविधता भएको समाजमा त्यहाँको सामाजिक मनोविज्ञानअनुसार विकासी खाकासहित समृद्ध समाजको परिकल्पना गर्नुपर्छ ।