आज माघे संक्रान्ती

मर्चवार न्यूज 152+ समाचार ( )
१ माघ २०८१, मङ्गलबार

नेपाली पात्रो अनुसार आज माघ १ गते मंगलवार एक विशेष दिन परेको छ जसलाई माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी पर्व नामले चिनिन्छ । जुन नेपालको एक प्रमुख चाड हो । ज्योतिष शास्त्र अनुसार सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोलि पुष ७ गतेबाटै दिन लम्बिन र रात छोटिन शुरु हुन्छ ।

माघे सङ्क्रान्ति पर्व नेपालभर विभिन्न नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी,  पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटहरूमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरि घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख छ । मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने–भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ–आफ्ना यजमानकहाँ गई महिमा सुनाउँछन् । महिमा सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन् । शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल  तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घुस्दा चिसोबाट मुक्त भई शरीरका छाला सम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ । महाभारतका अनुसार भीष्मले यही दिन मृत्यु रोजेका थिए भने, भगिरथले सोही दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । धार्मिक तथा ऐतिहासिक मान्यता अनुसार सूर्य नारायण स्वयं आफ्नो पुत्र शनिलाई भेट्न जाने समय भएकोले यसको महत्त्व धेरै रहेको छ । किनकि शनि मकर राशिका स्वामि हुनुहुन्छ । मकर सङ्क्रान्ति कै दिन भगिरथ राजाको पछि पछि आउनु भएको र कपिल मुनिको आश्रम हुँदै सागरमा गएर मिसिनु भएको थियो । यस कारण यो दिन तिर्थ स्थानमा गई स्नान, दान, धर्म, पूजा गर्नाले पूण्य मिल्ने कुरा हाम्रो शास्त्रले बताएको छ ।

माघमासे महादेवः यो दाद्यात् घृतकम्बलम्

सभुन्ङ्क्वा सकलान् भोगा अन्त्ये मोक्ष्चन्दिति ।

यस दिन गरेको दान पूण्य १०० गुणा भएर बढ्दछ अर्थात सय गुणा बढि पूण्य मिल्दछ र घ्यू, कम्बल दान गर्नाले मोक्षको प्राप्ति हुन्छ भनिएको छ ।

श्रीमद् भागवत एवं देवी पुराणअनुसार शनिदेव र पिता सूर्यदेवको बैरभाव थियो । शनि र छाँयाले सूर्यदेवलाई कुष्ट रोगको श्राप दिएका थिए । पिता सूर्य देवलाई कुष्ट रोगबाट पीडित देखेर यमराज दुःखी भए र सूर्यदेवलाई रोग मुक्त गर्नको लागि तपस्या गरे तर पनि सूर्यदेवले शनिको घरलाई खरानी बनाइदिनुभयो र शनि र छाँयालाई कष्ट भोग्नु पर्यो । यो देखेर यमराजले प्राथना गरेर शनिको घर जान आग्रहगर्नुभयो र सूर्य देव शनिको घरमा जादा केवल तील मात्र शेष थियो । तील द्वारा सूर्यको सत्कार गरेकोले यसदिन तीलको पनि विशेष रहेको छ । यस दिन तील दान गर्नाले सुख श्री र यश प्राप्त हुने कुरा शास्त्रमा वर्णित छ ।

शास्त्रमा भनिएको पनि छ : तिलस्नायी तिलोद्वर्ती तिलहोमी तिलोदकी। तिलभुक तिलदाता च षड्तिला ः पापनाशनाः

अर्थात तीलको स्नान गर्नु, तीलको होम गर्नु तीलको दान गर्नु, तीलको परिकार खानु, तिलको टिका लगाउनु, तील द्वारा तर्पण गर्नाले पापनाश हुन्छ । त्यस्तै माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ। अहिले यही अवसरमा भारत मा महा कुम्भ स्नान को आयोजना समेत गरिएको छ । कुम्भ मेला पनि हिन्दू धर्मावलम्बीहरूको एक प्रमुख धार्मिक उत्सव हो, जुन प्रत्येक १२ वर्षमा चार पवित्र स्थानहरूमा—प्रयागराज (इलाहाबाद), हरिद्वार, उज्जैन, र नासिकमा आयोजना गरिन्छ।  हाल, भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा महाकुम्भ मेला सुरु भएको छ। 

यस महाकुम्भ मेला पौष पूर्णिमाको दिनबाट शुरु भई महाशिवरात्रिको दिनमा समापन हुनेछ।  यस महाकुम्भ मेलामा विश्वभरका साधु तथा भक्तजनहरूले आस्थाको डुबुल्की लिने गर्दछन्।  नेपालबाट पनि हजारौंको संख्यामा मानिस कुम्भ मेला भर्न प्रयागराज जाने गरेका छन् । त्यहाँ थरी थरीका साधु सन्तको भेला हुने गर्दछ ।यस अघि, नेपालकै सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ चतराधाममा २०८० चैत २७ गतेदेखि २०८१ वैशाख २८ गतेसम्म बाह्रबर्षे महाकुम्भ मेला आयोजना भएको थियो ।

प्रतिक्रिया