किन र कसरी मनाइन्छ दशैँ

मर्चवार न्यूज 152+ समाचार ( )
१७ अशोज २०८१, बिहीबार

अहिले हिन्दुहरुको सबैभन्दा ठुलो पर्व बडा दशैं चलिरहेको छ । आश्विन शुक्ल प्रतिपदा देखि आश्वीन शुक्लदशमी सम्म मनाइने यस पर्वलाई दशहरा, विजया दशमी, नवरात्र, आयुध–पूजा आदि नामले समेत चिनिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरुको हात बाट टीका–प्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन् । आश्विन शुक्ल प्रतिपदा ( घटस्थापना )मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदाका दिन शैलपुत्री, दित्तीयाका दिन ब्रह्मचारिणी, तृतीयका दिन चन्द्रघण्टा, चतुर्थीका दिन कुष्माण्डा,पन्चमीका दिन स्कन्दमाता, षष्ठीका दिन कात्यायिनी, सप्तमीका दिन कालरात्री, अष्टमीका दिन महागौरी र नवमीका दिन सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी)पाठ गरी नव दुर्गा र त्रिशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।

आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । पुराण अनुसार भगवान रामले यसै दिन रावण को वध गरेका थिए । यसलाई असत्य माथि  सत्यको विजयको रूपमा लिईन्छ । यसकारण, यस दशमी लाई विजया दशमी भनिएको हो । 

अर्को मान्यता अनुसार यस दिन भगवान रामचन्द्र चौध वर्षको वनवास भोगेर तथा रावणको वध गरेर अयोध्या पुगे। यस कारण पनि यस पर्वलाई ’विजयादशमी’ भनिन्छ । यस्तो मानिएको छ कि आश्विन शुक्ल दशमीमा तारा उदय हुने समय ’विजय’ नामक मुहूर्त हुन्छ । यो काल सर्वकार्य सिद्धिदायक हुन्छ । यसकारण पनि यसलाई विजया दशमी भनिएको हो ।

यस्तो पनि मानिएको छ कि शत्रुमाथि विजय पाउनका लागि यसै समयमा प्रस्थान गर्नुपर्छ । यस दिन श्रवणनक्षत्र को योग अझ शुभ मानिएकोछ । यस दिन दुर्योधनले पाण्डव लाई जुवामा पराजित गरेर बाह्र वर्षको वनवासको साथ तेह्रौं वर्षमा अज्ञातवासको शर्त दिएका थिए । तेह्रौं वर्षमा यदि उनीहरूको पत्ता लागे पाण्डवले पुनः वनवास भोग्नु पर्ने थियो । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मा सम्म गरिन्छ ।  आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ताकाम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।दशैंका यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्दछन्, शस्त्र को पूजा गर्दछन् । प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण–यात्राको लागि प्रस्थान गर्दथे । यस दिन ठाउँ–ठाउँमा मेलाहरू लाग्थे । अहिले पनि भारतमा रामलीला को आयोजन हुन्छ ।

रावणको विशाल पुतला बनाएर जलाईन्छ । विजयदशमी भगवान रामको विजयको  रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति – पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव (पर्व) सुरु भएको हो । दशैैं पर्वले दश प्रकारका पापहरू– काम,क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने  (छोड्ने) प्रेरणा दिन्छ । दशैं पर्वको सामाजिक महत्त्व पनि त्यत्तिकै छ । भारत तथा नेपाल कृषिप्रधान देश हुन् । जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी सम्पत्ति घरमा ल्याउँछ तब उसको खुसी एवम् उमङ्गको सीमा हुँदैन । यस खुसीको अवसरमा भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न  पहिलो प्रतिपदाका दिन जमरा राखिन्छ । यस दिन घट कलशको स्थापना गरी देवी–देवतालाई आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ, मकै  अथवा गाउँ घरमा चलिआएको अन्न छरिन्छ । जौ,मकै अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यस स्थानको नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौ

वटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा–आजा गरिन्छ । नवरात्रको सातौं दिन मन्दिर वा घरमा नवपत्रिका प्रवेश गराई भद्रकाली, सरस्वतीको पूजा गरिन्छ । बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दशैं घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश–भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् भन्ने बैज्ञानिक मान्यता पनि रहेको छ । अष्टमीमा कालरात्रिको विधिवत्  पूजा गरी भगवतीको वाहन बाघको पनि पुजा गरिन्छ । महानवमीमा नवदुर्गा स्वरूप नौ जना कन्याको र दशमीका दिन विहान अपराजिता देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवी–देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन् । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवी देवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो । गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । नौ रात्रिसम्म पूजा गरेर दशौं दिन विहान टीका–प्रसाद ग्रहण गरे पछि बचेका अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुने मत वनौषधिविज्ञहरूको छ । जौका जमरालाई महौषधि भनिएको छ । निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ ।दशैंको पहिलो दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा,आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती –चण्डी), स्त्रोत्र रत्नावली, कालीका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनिपढिन्छ। नवरात्रिको नवौ दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा–आजा गरिन्छ । यस दिन विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । अष्टमी र नवमीका दिन बलि दिने भनी पशु हिँसाको गलत परम्परा बसेको पाइन्छ तर बलिको अर्थ त्याग, बलि दिनु अर्थात  त्यागिदिनु हो । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या,द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले र हाल  देशका विभिन्न दुर्गा भगवती मन्दिरहरूमा बोका तथा रांगा बलि चढाउने प्रचलन रहेको छ । दशैको दिन षोडशोपचारले अर्थात् सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी,नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ।त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछः

’आवाहनं नजानामि नजानामि विर्जसनम् । 

पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी ।

यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ । अनि घरका मुल मान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवर कहाँ दशैंको लागि तयार पारी राखिएको नयाँ लुगा लगाई टीका लगाउन जान्छन्। टीका लाउँदा निम्न आशीर्वचन बोलिन्छ ।

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

जसको अर्थ द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भन्ने हुन्छ । यसरी मान्यजनबाट आशीर्वचन लिइन्छ ।मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ ।  रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ । आफ्नो घरमा टीका लगाउन आउनेको क्रम पनि उत्तिकै रहन्छ । अन्त्यमा यो टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ। यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ ।

टीका लगाई पिङ्ग खेल्ने चलन नेपालमा रहेको छ । दशैँ लागे लगतै नेपालमा लिङ्गे पिङ्ग बनाएर गाउघरमा दशैँ लागेको संकेत पनि दिन्छन । यो चलन नेपालमा पिता पुर्खाकालदेखि अहिले सम्म चलि आएको छ । धार्मिक सांस्कृतिक परम्परा जे जस्तो भए पनि यो पर्व सामाजिक सद्भाव र आस्थाको पर्व हो । यो पर्व हुनेखानेको मात्र नहोस् । हुँदा खानेले पनि मनाउन पाउन । आपसी भाइचारा र सद्भावको बिकास होस् । सम्पुर्ण देश तथा बिदेशमा रहने नेपालीहरुमा मातादुर्गाले सुश्वास्थ्य , दिर्घायु तथा उत्तरोत्तर प्रगतिको आशिर्वाद प्रदान गरुन भन्दै २०८१को विजया दशमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ ।

प्रतिक्रिया