भैरहवा । नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयले बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ "ग्लोबल मनी विक (Global Money Week-GMW), 2025" मनाउने तयारी गरेको छ ।

सन् २०१२ देखि Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा हरेक वर्ष विश्वभर मनाइँदै आएको यस अभियानको यो १३औं शृङ्खला २०२५ मार्च १७ देखि २३ (२०८१ चैत ४ देखि १०) सम्म चल्नेछ । यस वर्षको नाराकारूपमा "Think before you follow, wise money tomorrow" तय गरिएको छ । हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवा यस अभियानबाट लाभान्वित भइसकेका छन् । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा नेपालभर विविध कार्यक्रम आयोजना गरिनेछ ।
यस अवसरमा सिद्धार्थनगर कार्यालयले विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । चैत ४ गते नारासहितको ब्यानर बनाई प्रभातफेरी कार्यक्रम सञ्चालन गरिनेछ, जसमा नेपाल बीमा प्राधिकरण, सहकारी विभाग, बैंक तथा वित्तीय संस्थाका प्रादेशिक तथा शाखा कार्यालयहरुको सक्रिय सहभागिता रहनेछ । वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धिका लागि यही चैत ४ देखि ११ गतेसम्म कार्यालयको अवलोकन, वित्तीय शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ । यस कार्यक्रम नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयको सभाहलमा हुनेछ ।
यसबाहेक, चैत ८ गते रुपन्देही जिल्लास्थित स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुका लागि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ। यस प्रतियोगिताले विद्यार्थीहरुलाई वित्तीय साक्षरताको महत्त्वबारे जानकारी गराउने विश्वास गरिएको छ ।
नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक रमेश आचार्यका अनुसार, यस अभियानले युवाहरुमा वित्तीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । वित्तीय ज्ञान, सीप तथा व्यवहारको विकास गरी उनीहरुलाई आर्थिकरूपमा सशक्त बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले देशभरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।