चुरे । कैलालीको दुर्गम पहाडी चुरे गाउँपालिकामा चुनावी माहोल बढ्न थालेको छ । सरकारले आगामी वैशाख ३० गतेका लागि घोषणा गरेको स्थानीय तह निर्वाचन नजिकिएसँगै चुनावी माहोल बढेको हो । विभिन्न दलले उम्मेदवार तय गर्न छलफल थालिसकेका छन् भने आकाङ्क्षीहरु पनि लविङमा जुटेका छन् ।
नेकपा एमालेबाट भने यसपटक गाउँपालिकाको अध्यक्ष पदमा दर्जन नेताले इच्छा राखे पनि मुख्य पाँच जना आकाङ्क्षी देखिएका छन् । गत निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्षमा पराजित किसन सिं साउँद -विशाल_ पनि पार्टी एकतासंगै नेकपा विभाजनपछि एमालेमै बस्नुभएको छ । नेकपा एमालेका प्रदेश इन्र्चाज लेखराज भट्टसंगै उहाँ पनि एमालेमै बस्नुभएको हो । उहाँ अहिले गाउँपालिकाको अध्यक्षका लागि लविङमा लाग्नुभएको छ ।
त्यस्तै, अध्यक्षमा वर्तमान गाउँपालिका अध्यक्ष धनबहादुर रोकमगर, वडा नम्बर ३ का वडा अध्यक्ष टेकबहादुर शाह, एमाले चुरेका अध्यक्ष चक्र बोगटी र एमाले चुरेका नेता दानु महराको नाम पनि चर्चामा छ ।
०७४ को निर्वाचनमा पराजित साउँदा आफू घाइते भएकाले र चुरे क्षेत्र माओवादीबाट एमालेमा आएकाहरुलाई परेको भन्दै टिकट पाउनेमा ढुक्क हुनुहुन्छ । उहाँ एमाले सुदूरपश्चिम इन्र्चाज लेखराज भट्ट र अध्यक्ष दामोदर भण्डारी निकटको मानिएका छन ।
त्यस्तै, वर्तमान गाउँपालिका अध्यक्ष रोकामगर आफू एक कार्यकाल अध्यक्ष भएर चलाएको अनुभव रहेकाले र पाँच वर्षे कार्यकालमा रहेका अधुरा काम पुरा गर्नका लागि भएपनि पार्टीले आफूलाई नै टिकट दिने भन्दै प्रचारप्रसारमा लाग्नुभएको छ ।
यता, अर्का आकाङ्क्षी टेकबहादुर शाह भने चुरे गाउँपालिकामा आफू लोकप्रिय जनप्रतिनिधि भएकाले र वडा अध्यक्ष भएर चलाएको पाँच वर्षे कार्यकालको अनुभव रहेकाले पनि पार्टीले जनचाहना अनुसार टिकट दिनेमा ढुक्क भएको बताउनुहुन्छ ।
अर्का अध्यक्षका आकाङ्क्षी एमाले चुरेका अध्यक्ष चक्र बोगटी भने आफू संगठन विस्तारमा लागेको र पार्टीमा पनि सिनियर नेता भएकाले टिकट पाउनेमा ढुक्क भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘तत्कालीन गाविस हुँदा दुई कार्याकाल अध्यक्ष भएर चलाएको अनुभव छ । त्यसैले पनि पार्टीले जनताको चाहना र पार्टीको सिनिएर नेता भएकाले पनि मलाई टिकट दिन्छ ।’
यस्तै, एमालेबाट अध्यक्षका अर्का आकाङ्क्षी महारा पनि यसपटक टिकटका लागि जोडबल गर्न थालेका छन् । ‘लामो समय एमाले रहेर चुरेमा काम गर्दा महार कार्यकर्तामाझ लोकप्रिय हुनुहुन्छ’, एमाले चुरेका एक नेताले भन्नुभयो, ‘अहिलेसम्म महाराले कुनै अवसर पाउनुभएको छैन । त्यसैले यसपटक अध्यक्षको टिकट महराले पाउने सम्भावना पनि बलियो छ ।