मर्चवार लिफ्ट सिँचाईः ब्लाक निर्वाचनको शुरुमै विवाद

मर्चवार न्यूज 152+ समाचार ( )
७ माघ २०८१, सोमबार

मर्चवार । मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको निर्वाचनको पहिलो दिनमै विवाद भएको छ । निर्वाचनको पहिलो चरण्मा माघ ३ गते ४ वटा ब्लाकको निर्वाचन पछि भएको विवादले मतगणना स्थगित भई मतपेटिका प्रहरीको सुरक्षामा राखिएको छ । 

माघ ३ गते सम्पन्न ब्लाक नं. १, २, २ बी र २४ बी को मतदानपछि मतगणनाको लागि सहमति जुट्न नसक्दा मतगणना हुन सकेको छैन । ब्लाक नं. १ मा १०१ मत, ब्लाक नं. २ मा ८७ मत, ब्लाक नं. २बी मा ६६ मत, ब्लाक नं. २४बी मा ४५ मत गरी कुल २ सय ९९ मतको मतगणना स्थगित गरिएको छ । 

संस्थाको ब्लाक नं. २४ बी का उम्मेदवार राजेन्द्र यादवले खेत नै नभएको ब्यक्तिले निर्बाचनमा मतदान गरेको भन्दै आक्रोस पोखे । उनले भने, ‘खेत बुवाको नाममा छ, तर छोरा र नातीहरुको नाममा पानी शुल्क भुक्तानी रसिद काटेर फर्जी मातदाता ठड्याइएको छ ।’ 

आफ्नो खेत बिक्रि गरीसकेका ब्यक्तिलाई पनि मतदाता बनाइएको यादवको आरोप छ । ‘मतदाता नामावलीको हामी पहिलै बिरोध गरेका थियौँ र फर्जी नाम हटाउने भनेका थियौ तर मतदान गर्ने बेलामा सोही फर्जी ब्यक्तिहरु मतदान गरेकोले उक्त मतदान प्रति हाम्रो आपत्ती छ, त्यसैले मतगणनाको लागि असहमत छौँ’, उनले भने । त्यसैगिरी  ब्लाक नं. २५ मा ७४ जनाको ठाउँमा फर्जी रसिद काटेर १ सय ७४ जना मतदाता बनाइएको उनको आरोप छ ।

निर्वाचन प्रकृयामा सहभागी भएका दुई पक्षको सहमति अनुसार निर्वाचन सम्पन्न भएपछि दुई पक्षको विवादका कारण गणना प्रकृया केहीदिनका लागि स्थगित गरिएको निर्वाचन अधिकृत तथा सिँचाई डिभिजन कार्यालय रुपन्देहीका ईन्जिनियर विवेक साहले बताए ।

उनले भने ‘निर्वाचनको लागि प्रकाशन भएको नामावली र मतदान प्रकृयामा पनि दुबै पक्षको सहमतिमा थियो । मतदान पछि मतपेटिका शील गर्न सुरक्षित गर्नपनि दुबै पक्षको सहमती थियो । पछि मतगणनाको बेला दुबै पक्षले तमाम किसिमको आरोप लगाउदै असहमति जनाएकोले मतगणना हुन नसकेको मात्र हो । 

रात परेपछि मतदाता भन्दा बाहिरको भीडले मतपेटिका जलाउने र मार्ने धम्की दिन थालेपछि तत्कालको लागि मतगणना स्थगित गरी मतपेटिका सुरक्षित तरिकाले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस करौता (दुईमोहान)मा राखिएको निर्वाचन अधिकृत साहले बताए । 

त्यसैगरी सोही दिन ब्लाक नं. २४ र ब्लाक नं. २६ मा निर्वाचन सम्पन्न भएको छ । जसमा सदिक अली मुसलमान र बिरेन्द्र यादव निर्विरोध ब्लाक अध्यक्ष भएको निर्वाचन अधिकृत साहले बताए । 

विवादित भई मतगणना स्थगित भएको ब्लाक नं. १ मा चिनगुद चौधरी, सुभान खान र स्माइल मुसलमान, ब्लाक नं. २ मा इन्ताफ मुसलमान, सुर्यनाथ यादव, ब्लाक नं. २बी मा सुग्रीम यादव, प्रमानन्द चौहान, ब्लाक नं. २४बी मा राजेन्द्र यादव र आशिक अली धुनिया प्रतिस्पर्धी रहेको निर्वाचन अधिकृत साहले जानकारी दिए । 

कुल १ सय ३० ब्लाक संख्या रहेको मर्चवार लिफ्ट सिंचाई जल उपभोक्ता संस्थामा १ हजार ७ सय १० मतदाता रहेका छन । माघ ३ गते देखि शुरु भएको ब्लकको निर्बाचानपछि मूल समितीको निर्बाचन हुने निर्बाचन कार्यालयको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार