मर्चवार । ६ करोड बढीको लागतमा निर्माण हुने मर्चवारीमाई गाउँपालिकाको प्रशासनिक भवनको शिलन्यास भएको छ । मर्चवारीमाई गाउँपालिका वडा नं. ४ खैरामा निर्माण हुने उक्त प्रशासनिक भवनको बुधबार एक कार्यक्रमका बिच शिलन्यास गरिएको हो ।
नेपाली कांग्रेस पार्टीका महाअधिवेशन प्रतिनिधि र हालै सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा रुपन्देही क्षेत्र नं. ४ बाट उम्मेदवार रहनु भएको आशुतोष मिश्रको प्रमुख अतिथ्यतामा उक्त शिलन्यास कार्यक्रम सम्पन्न भएको हो । उक्त पालिकाको नाम र केन्द्रको परिवर्तनबारे विवाद रहेको सबिकबाट २०८२ मंसिर २ गते बसेको मन्त्री परिषदको बैठकले गरेको निर्णय पछि मर्चवारीमाई गाउँपालिका र केन्द्र खैरा भई परिवर्तन पछि भवन निर्माणको बाटो खुलेको थियो ।
नयाँ भवनको लागि ४ तल्ले भवनको डिपिआरलाई बजेटको अवस्था अनुसार २ तल्ले भवन निर्माण गर्न डिपिआर परिवर्तन गरी निर्माण कार्य अगडी बढाईको मर्चवारीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठीले जानकारी दिनुभएको छ ।
भवन निर्माणको कुल बजेट ८ करोड ९४ लाख १२ हजार २१८ रुपैया लागत लाग्ने अनुमान गरिएको उक्त भवनको बज्र बारही एलिजा निर्माण ज्वाइन्ट भेच्नर कम्पनीले ६ करोड ३२ लाख ९० हजार ६६४ रुपैयमा निर्माण गर्ने सम्झौता गरेको मर्चवारीमाई गाउँपालिकाका ईन्जिनियर गंगालाल यादवले बताउनुभएको छ ।
११० फिट लम्बाई र ७१ फिट चौडाईमा निर्माण हुने उक्त भवन निर्माणको लागि निर्माण कम्पनीले २९.७६ प्रतिशत न्यून मुल्यमा ठेक्का स्वीकार गरेको इन्जिनियर यादवले जानकारी दिनुभएको छ ।