निर्वाचनमा जुटे राजनीतिक दल, मनोनयनका लागि छलफल

मर्चवार न्यूज 382+ समाचार ( )
६ माघ २०८२, सोमबार

मर्चवार । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि देशभर तयारी तीव्र बनेको छ । आइतबार रुपन्देहीका विभिन्न निर्वाचन क्षेत्रसँगै निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन कार्यालय मझगावाँमा पनि विभिन्न राजनीतिक दलका प्रतिनिधि, निर्वाचन अधिकृत तथा सुरक्षा निकायबीच छलफल भएको छ ।

निर्वाचन अधिकृत टोपबहादुर विष्टले प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई हरेक राजनीतिक दलले उत्सवका रूपमा लिएर तयारीमा जुट्न आग्रह गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै तडक–भडक नगरी प्रचार–प्रसारमा संलग्न हुन अनुरोध गर्नुभयो ।
‘निर्वाचन आचारसंहिता पालना गर्नु र गराउनु सरकारको प्रमुख दायित्व हो । सम्पूर्ण राजनीतिक दलले अक्षरशः पालना गरे निर्वाचन शान्तिपूर्ण हुने कुरामा दुईमत छैन । निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन हामी कटिबद्ध छौँ,’ उहाँले भन्नुभयो ।

सर्वदलीय बैठकमा उपस्थित सबैलाई निर्वाचनको तालिका र आचारसंहिताबारे जानकारी दिँदै उम्मेदवारी दर्ताका लागि आवश्यक कागजात तथा प्रक्रियाबारे अवगत गराइएको थियो । बैठकमा निर्वाचनलाई शान्तिपूर्ण तथा निष्पक्ष ढंगले सम्पन्न गराउन सबै दलले समन्वय र सहकार्य गर्ने, आचारसंहिताको पूर्ण रूपमा पालना गर्ने, उल्लङ्घन भएको देखिएमा निर्वाचन कार्यालयलाई जानकारी दिने तथा मनोनयन दर्ताका लागि आवश्यक कागजात पूरा गरी उम्मेदवारी दर्ता गर्ने निर्णय भएको निर्वाचन अधिकृत विष्टले जानकारी दिनुभयो ।

बैठकमा बोल्दै इलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक तपेन्द्र विष्टले निर्वाचनमा शान्ति सुरक्षाका लागि प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो । निर्वाचन क्षेत्र नं. ४ मा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच सहकार्य गरी शान्ति सुरक्षाका लागि विभिन्न गतिविधि सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पेट्रोलिङ, हुलदंगा हुनसक्ने क्षेत्रमा नियमित निगरानी तथा रातिको समयमा टोलीसहित गस्ती भइरहेको छ । निर्वाचन आचारसंहिता पालना र शान्ति सुरक्षा कायम गर्न सबै राजनीतिक दलको सहकार्य आवश्यक छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार