इप्रका मझगावाँद्वारा नागरिक सुनुवाइ सम्पन्न

मर्चवार न्यूज 382+ समाचार ( )
१५ जेठ २०८३, शुक्रबार

मर्चवार । रुपन्देहीको इलाका प्रहरी कार्यालय मझगवाँले नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बुधबार कोटहीमाई गाउँपालिका–५ स्थित गाउँपालिकाको सभा हलमा विभिन्न सरोकारवाला निकाय, जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले प्रहरीले नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराउने महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको बताउनुभयो । पालिकाले सञ्चालन गर्ने विकास निर्माणका काममा देखिने विभिन्न अवरोध हटाउन प्रहरी प्रशासनले सक्रिय सहयोग गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “यदि प्रहरी सक्रिय भएन र आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेन भने राज्यप्रतिको नागरिकको विश्वास कमजोर हुन्छ र देशको सुरक्षामा समेत प्रत्यक्ष असर पर्न सक्छ ।” मर्चवार क्षेत्रमा प्रहरीले शान्ति सुरक्षा कायम गर्न प्रभावकारी भूमिका खेलेको उहाँको भनाइ थियो ।

मर्चवारीमाई गाउँपालिका–५ का वडाध्यक्ष कृष्णकुमार सिंहले प्रहरीले स्थानीय आवश्यकता, जनभावना तथा सीमा क्षेत्रको वास्तविकतालाई बुझेर काम गर्नुपर्ने बताउनुभयो । सीमा क्षेत्रका किसानले भारतबाट ल्याउने मल तथा बीउप्रति व्यवहारिक र सकारात्मक दृष्टिकोण अपनाउन उहाँले प्रहरी प्रशासनसँग आग्रह गर्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रतिमा कार्कीले ट्राफिक नियम पालना गर्न सबै नागरिक जिम्मेवार र सचेत बन्नुपर्ने बताउनुभयो । ट्राफिक नियम उल्लंघनका कारण दुर्घटनाको संख्या बढ्दै गएको उल्लेख गर्दै उहाँले खुला सीमा क्षेत्र भएकाले भारतीय नम्बर प्लेटका सवारीसाधन नियमविपरीत सञ्चालन हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक आशिष विश्वकर्माले प्रहरी समाजमैत्री ढंगले काम गरिरहेको बताउनुभयो । नागरिकले आफ्ना सामाजिक समस्या, गुनासा तथा सूचना प्रहरीसमक्ष खुला रूपमा राख्नुपर्ने उहाँले आग्रह गर्नुभयो । कानुनविपरीत हुने गतिविधिविरुद्ध प्रहरीले कडा निगरानी र सक्रियता बढाएको उहाँको भनाइ थियो ।

इलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक तपेन्द्र विष्टले कार्यालयको कार्यक्षेत्र, सुरक्षा अवस्था तथा हालसम्म भएका गतिविधिबारे जानकारी गराउँदै सहभागीलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले सीमा क्षेत्रको सुरक्षा, लागूऔषध नियन्त्रण, चोरी तस्करी रोकथाम तथा ट्राफिक व्यवस्थापनका विषयमा सुझाव दिएका थिए ।

कार्यक्रममा नागरिक र प्रहरीबीच समन्वय तथा सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार