मर्चवार । श्रीमती मनराजीदेवी माध्यमिक विद्यालयका सहायक लाइब्रेरियन विकास यादव निलम्बनमा परेका छन् ।
श्रीमती मनराजीदेवी माध्यमिक विद्यालयले जबरजस्ती करणीसम्बन्धी आरोपमा अनुसन्धान भइरहेका बेला सहायक लाइब्रेरियन यादवलाई वैशाख २३ गतेदेखि लागू हुने गरी निलम्बन गरेको जनाएको छ । विद्यालय प्रशासनले सार्वजनिक गरेको सूचनामा घटनाको कानुनी प्रक्रिया टुंगो नलागेसम्म उहाँलाई जिम्मेवारीबाट हटाइए उल्लेख गरिएको छ ।
विद्यालयमै अध्ययनरत १७ वर्षीया छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा यादवविरुद्ध चैत २७ गते इलाका प्रहरी कार्यालय मर्चवारमा जाहेरी दर्ता भएको थियो । जाहेरीपछि प्रहरीले घटना सम्बन्धी अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार पीडित पक्षको बयान, विद्यालय प्रशासनसँगको समन्वय तथा अन्य प्रमाण संकलनको काम भइरहेको छ । आरोपित लाइब्रेरियन यादव हाल फरार रहेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।
अभिभावक तथा स्थानीयले विद्यालय जस्तो संवेदनशील क्षेत्रमा अध्ययनरत छात्राको सुरक्षामाथि प्रश्न उठेको बताएका छन् । कतिपय अभिभावकले विद्यालयभित्र विद्यार्थीको मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न थप निगरानी र अनुशासन आवश्यक रहेको धारणा राखेका छन् ।
यस घटनापछि मर्चवारीमाई गाउँपालिकाले समेत चासो देखाएको छ । गाउँपालिकाले वैशाख १३ गते विद्यालयलाई पत्राचार गर्दै घटनाबारे विस्तृत विवरण माग गरेको थियो । गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउँदै दोषी ठहर भए कानुनअनुसार कडा कारबाही हुनुपर्ने धारणा राख्नुभएको छ । उहाँले विद्यार्थीको सुरक्षा र शैक्षिक वातावरणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।