भैरहवा । सिद्धार्थनगर–८ स्थित रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा सांस्कृतिक पोसाक प्रदर्शनी सम्पन्न भएको छ ।
अध्ययनरत विद्यार्थीहरूमा एक–अर्काको संस्कृतिबारे जानकारी गराउने, विभिन्न जात–जाति, धर्म र संस्कृतिको पहिचान तथा भेषभूषाबारे ज्ञान प्रदान गर्ने, एक–अर्काको पहिचानलाई सम्मान गर्ने भावना विकास गर्नुका साथै सामाजिक सद्भावमा वृद्धि गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।
विद्यालयको नियमित कार्यक्रमअन्तर्गत हरेक वर्ष अंग्रेजी नयाँ वर्ष तथा राष्ट्रिय पोसाक दिवसको अवसरमा कार्यक्रम मनाउँदै आएको विद्यालयका प्रधानाध्यापक रुपकुमार क्षेत्रीले जानकारी दिए । यस वर्ष दिवसको दिन जाडो बिदा परेकाले दिवसअगावै प्रदर्शनी गर्नुपरेको उनले बताए ।
पछिल्लो समयमा नयाँ पुस्ता विदेशी संस्कृति तथा परम्पराप्रति अत्यधिक आकर्षित हुँदा परम्परागत पहिरन, पोसाक, कला, संस्कृति, भेषभूषा तथा परम्परा बिर्सँदै जान थालेकाले त्यसको संरक्षणका लागि विद्यालय स्तरबाटै केही गर्नुपर्छ भन्ने उद्देश्यले वार्षिक क्यालेन्डरअनुसार प्रदर्शनी आयोजना गरिएको प्रधानाध्यापक क्षेत्रीले बताए ।
बिहानी र दिवा गरी दुई सत्रमा अध्ययनरत विद्यार्थीहरूले आ–आफ्नो तहगत रूपमा उक्त कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यरत शिक्षक तथा कर्मचारीहरू पनि आ–आफ्नो सांस्कृतिक पोसाकमा सहभागी भएका थिए । तहगत विद्यार्थीहरूको आ–आफ्नै समूह बनाई मूल्याङ्कन समितिले उत्कृष्ट विद्यार्थी घोषणा गरी पुरस्कृत समेत गरेको थियो ।
साधारण शिक्षातर्फ बाल विकासदेखि कक्षा १२ सम्म नेपाली तथा अंग्रेजी दुवै माध्यम र प्राविधिकतर्फ सिटिइभिटीअन्तर्गत ३ वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा प्रि–डिप्लोमा इन आइटी कार्यक्रम सञ्चालन गरिरहेको विद्यालयमा हाल २ हजार २ सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् भने ७४ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् ।
विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्दा सबै खुसी हुने, आफ्नो भेषभूषा तथा पहिरनका बारेमा बुझ्ने अवसर पाउनुका साथै प्रोत्साहित पनि हुने विद्यालयले जनाएको छ ।