भवन ठडिए, सिकाई मधुरो

हृदयराम गुप्ता 123+ समाचार ( )
मर्चवारका सामुदायिक विद्यालयको साख संकटमा
८ जेठ २०८३, शुक्रबार

रूपन्देहीको दक्षिणी सीमावर्ती क्षेत्र, जहाँको माटोले सदियौँदेखि पसिना र पौरखको कथा लेख्दै आएको छ, आज त्यही मर्चवारको शैक्षिक धरातल भने एउटा गम्भीर र निराशाजनक मोडमा उभिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा केवल अङ्कहरूको सङ्ग्रह मात्र रहेन, यसले त मर्चवारको शिक्षा प्रणालीभित्र लुकेको खोक्रोपन र बेथितिलाई उदाङ्गो पारिदिएको छ । 

वैशाखको प्रचण्ड गर्मीमा आएको यो नतिजाले अभिभावकहरूको मनमा भने चिसो पसेको छ । स्थानीय तहहरूले बर्सेनि शिक्षाका नाममा खन्याउने बजेट र गरिने ठुलाठुला दाबीहरू यसपटक मर्चवारको माटोमा बालुवामा पानी हालेझैँ सावित भएका छन् । मर्चवार क्षेत्रका मर्चवारीमाई, सम्मरीमाई र कोटहीमाई गाउँपालिकाहरूको नतिजालाई नियाल्दा यहाँको शैक्षिक अवस्था राष्ट्रिय औसतभन्दा निकै तल ओर्लिएको देखिन्छ । 

एकातिर देशभरका निजी र सामुदायिक विद्यालयहरूको औसत उत्तीर्ण प्रतिशत ६५.९८ पुगिरहँदा मर्चवारका सामुदायिक विद्यालयहरू भने २० देखि ३० प्रतिशतको घेराभित्र खुम्चिएका छन् । यसले के प्रष्ट पार्छ भने मर्चवारमा शिक्षा केवल औपचारिकतामा सीमित छ र गुणस्तरको खोजी कतै हराइरहेको छ । सामुदायिक विद्यालयका भवनहरू ठडिँदै गए पनि ती भवनभित्र सिकाईको ज्योति भने मधुरो हुँदै गएको आभास यस नतिजाले गराएको छ ।

मर्चवारीमाईको अवस्था त झन् टिठलाग्दो देखिन्छ । यहाँका ७ वटा सामुदायिक र एउटा निजी विद्यालयबाट गरी कुल ५ सय ८३ जना विद्यार्थीले ठुलो सपना बोकेर परीक्षा हलमा प्रवेश गरेका थिए, तर नतिजा सार्वजनिक हुँदा केवल १ सय ५ जनाको अनुहारमा मात्र मुस्कान देखियो । करिब १८ प्रतिशतको यो सफलता दरले मर्चवारीमाईको शैक्षिक साखलाई नराम्ररी धक्का दिएको छ । यहाँका सामुदायिक विद्यालयहरूको अवस्था यति कमजोर देखियो कि ठुलो सङ्ख्यामा विद्यार्थी सहभागी भएका विद्यालयबाट उत्तीर्ण हुनेको सङ्ख्या औँलामा गन्न सकिने मात्र छ ।

विशेष गरी हरिनामपुर माध्यमिक विद्यालयको नतिजाले त सबैलाई अवाक बनाएको छ । १५ जना विद्यार्थी सहभागी भएको यस विद्यालयबाट एक जना पनि उत्तीर्ण हुन सकेनन् । यो केवल विद्यार्थीहरुको असफलता मात्र होइन, बरु विद्यालय प्रशासन र त्यहाँका शिक्षकहरूको कार्यक्षमतामाथि लागेको ठुलो प्रश्नचिन्ह पनि हो । त्यस्तै, श्रीमती मनराजीदेवी माध्यमिक विद्यालय सिसो सेमराको अवस्था पनि उस्तै छ, जहाँ १ सय ४९ जनामध्ये केवल १५ जनाले मात्र सफल भए । 

शिक्षा शाखा प्रमुख हरिश्चन्द्र बरईले प्रस्तुत गरेका यी तथ्याङ्कहरूले मर्चवारीमाईमा शिक्षाको लगानी कसरी खेर गइरहेको छ भन्ने कुराको जीवन्त चित्र प्रस्तुत गर्दछ । यहाँका अन्य विद्यालयहरू जस्तै बागौली माध्यमिक विद्यालय, अमवा माध्यमिक विद्यालय र ठर्की माध्यमिक विद्यालयको अवस्था पनि सुधारोन्मुख देखिँदैन । बागौलीबाट १ सय ६ मध्ये १९, अमवाबाट ८० मध्ये २२ र ठर्कीबाट १ सय ३ मध्ये १२ जना मात्र उत्तीर्ण हुनुले यहाँको शिक्षण पद्धतिमा खोट रहेको पुष्टि गर्दछ । अर्कोतर्फ, निजी विद्यालयको रूपमा रहेको सिलौटिया बागेश्वरी माध्यमिक विद्यालयले २४ मध्ये १४ जनालाई उत्तीर्ण गराएर सामुदायिक विद्यालयको तुलनामा आफ्नो उपस्थितिलाई केही बलियो बनाएको छ । 

नजिकैको सम्मरीमाई गाउँपालिकाको चित्र पनि मर्चवारीमाईभन्दा धेरै फरक छैन । यहाँका विद्यालयहरूबाट ४ सय ३७ जना विद्यार्थी सहभागी भएकोमा १ सय २८ जना मात्र उत्तीर्ण हुन सफल भए । शिक्षा शाखा प्रमुख रामदास गौडका अनुसार कृषक आदर्श माध्यमिक विद्यालयले ६५ जनालाई उत्तीर्ण गराएर केही राहत दिए पनि अन्य विद्यालयहरूको अवस्था दयनीय छ । जनता माध्यमिक विद्यालय महदेइयाबाट ३६ जना सहभागी भएकोमा केवल १ जना मात्र उत्तीर्ण हुनुले शिक्षाको कन्तबिजोगलाई छर्लङ्ग पारेको छ । यस्तो नतिजा आउनुमा विद्यालयको वातावरण, नियमित कक्षा सञ्चालनको अभाव र शिक्षकहरूको उदासीनता नै मुख्य जिम्मेवार रहेको स्थानीयको बुझाइ छ ।

त्यसैगरी कोटहीमाई गाउँपालिकामा भने अन्य दुई पालिकाको तुलनामा केही आशाका किरणहरू देखिएका छन् । यहाँका ९ विद्यालयबाट ३ सय ७४ जना विद्यार्थी सहभागी भएकोमा १ सय ६५ जना उत्तीर्ण भएका छन् । मर्चवार आदर्श, मर्यादपुर र बोगडी माध्यमिक विद्यालयहरूले केही सुधारिएको नतिजा ल्याएका छन् । तर, यहाँ पनि निजी विद्यालयहरूकै वर्चस्व देखियो । मर्चवारको केन्द्र मझगावामा रहेको पब्लिक भिजन इङ्ग्लिस बोर्डिङ स्कुलले ४३ मध्ये ४० जनालाई उत्तीर्ण गराएर निजी क्षेत्रको शैक्षिक गुणस्तरलाई पुनः पुष्टि गरेको छ । सहायक शिक्षा अधिकृत मनोहर चौधरीका अनुसार सामुदायिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्या बढी भए पनि नतिजामा निजीले नै उछिनेका छन् ।

यो कमजोर शैक्षिक नतिजापछि मर्चवार क्षेत्रका अभिभावकहरूमा एक किसिमको आक्रोश र चिन्ताको लहर चलेको देखिएको छ । मर्चवारीमाई गाउँपालिका बस्ने अभिभावक रामअवतार यादवको गुनासो छ कि स्थानीय तहले सडक, नाला र भौकि पूर्बाधारमा जस्तै शिक्षा क्षेत्रमा पनि बजेट त पठाउँछ, तर त्यो बजेटले त्यहाँका विद्यार्थीको भविष्य किन सुधार्न सकेन ? उनले स्थानीय सरकारले शिक्षकहरूको अनुगमन नगरेको र विद्यालयमा राजनीतिको प्रभाव बढेका कारण छोराछोरीको भविष्य अन्धकारमा धकेलिएको आरोप लगाए । सम्मरीमाईकी सीता देवी पासीले पनि विद्यालयमा शिक्षकहरू समयमा नआउने र आए पनि जिम्मेवारीपूर्वक नपढाउने परिपाटीले यस्तो हविगत भएको दुखेसो पोखिन् ।

यस वर्षको राष्ट्रिय तथ्याङ्कलाई हेर्ने हो भने देशभर ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीले एसईई दिएका थिए । तीमध्ये ६५.९८ प्रतिशत उत्तीर्ण हुनु आफैँमा एउटा मानक हो । तर, रुपन्देही जिल्लाको मर्चवार क्षेत्रमा रहेका विद्यालयहरुको यो शैक्षिक नतिजाले राष्ट्रिय औसतलाई भेट्टाउन त परै जाओस्, त्यसको नजिक पुग्न पनि ठुलो सङ्घर्ष गर्नुपर्ने देखाएको छ । मर्चवारमा शिक्षाको यो दुरवस्था हुनुमा केवल विद्यार्थीको कमजोरी मात्र छैन, यसमा अभिभावकको चेतना स्तर, विद्यालय व्यवस्थापन समितिको निष्क्रियता र स्थानीय शिक्षा शाखाको फितलो अनुगमन पनि उत्तिकै दोषी देखिन्छ ।

‘मर्चवार क्षेत्रको यो शैक्षिक पराजयले एउटा कुरा प्रष्ट पारेको छ—शिक्षामा भौतिक पूर्वाधार (भवन र बेन्च) मात्र भएर पुग्दैन, त्यहाँ गुणस्तरीय शिक्षण र शिक्षकको इमानदारिता पनि चाहिन्छ’ शिक्षाबिद  अब्दुल रउफ खाँले भने, ‘वैशाख २८ गते सार्वजनिक भएको यो नतिजा मर्चवारका जनप्रतिनिधि र शिक्षाकर्मीहरूका लागि एउटा गम्भीर चेतावनी हो ।’ यदि अहिले नै शिक्षामा सुधारका लागि ठोस कदम चालिएन र शिक्षकहरूलाई उत्तरदायी बनाइएन भने, आगामी वर्षहरूमा पनि मर्चवारका हजारौँ विद्यार्थीहरूको भविष्य यसरी नै अन्योलमा परिरहने निश्चित रहेको उनले बताए । मर्चवारलाई शैक्षिक रूपमा सक्षम बनाउन अब नयाँ शिराबाट बहस र कार्ययोजनाको खाँचो देखिएको छ, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार