रूपन्देहीमा ३४ हजार ७२ युनिट रक्त संकलन

महेश गुप्ता, भैरहवा 7+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

भैरहवा– नेपाल रेडक्रस सोसाइटी, रुपन्देही शाखाले आर्थिक वर्ष २०८१।०८२ मा ३४ हजार ७२ युनिट रक्त संकलन गरेको छ । जसमध्ये, विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेर २८ हजार ७ सय ३५ युनिट र स्वयंसेवी रक्तदाताहरुबाट ५ हजार ३ सय ३७ युनिट रक्त संकलन भएको हो । यो रक्त संकलन रक्तसञ्चार सेवा केन्द्र, बुटवल र भैरहवा मार्फत् भएको हो ।

६० औं रक्तसञ्चार सेवा दिवशका अवसरमा रेडक्रस रुपन्देही शाखाले सोमबार भैरहवामा आयोजना गरेको कार्यक्रममा वार्षिक प्रगती विवरण सार्वजनिक गर्दै आव २०८१–०८२ मा रक्त संकलित यो परिमाण अघिल्लो आवको तुलनामा २ हजार ३ सय ९३ युनिट बढी भएको जनाइएको छ ।

जिल्ला शाखाका उपसभापति तथा सम्मान कार्यक्रमका संयोजक शुशिल गुरुङले रुपन्देहीमा रगतको आवश्यकता र महत्वलाई मध्यनजर गर्दै रेडक्रसले २०३४ कात्तिक २० गते रक्तसञ्चार सेवा केन्द्र बुटवल र २०५७ फागुन १२ गते रक्तसञ्चार सेवा केन्द्र भैरहवाको स्थापना गरी संचालनमा आएको बताए । ‘आव २०८१–०८२ मा रुपदेहीमा भएको यो रक्त संकलन नेपालमैं धेरै संकलन गर्ने जिल्लाको रुपमा प्रथम स्थान हासिल गरेको छ’, गुरुङले भने, ‘रेडक्रस रुपन्देहीको ब्लड बैंकलाई अत्याधुनिक बनाउन र बिरामीलाई पूर्ण रुपमा संक्रमण रहित रगत प्रदान गर्न नयाँ प्रबिधिमा जाने दिशामा अघि बढेका छौं ।’

गत वर्षमा ४ सय ३८ संघसंस्थाले ७ सय ७ वटा रक्तदान कार्यक्रको आयोजना गरि रक्त संकलन गरेका थिए । लुम्बिनी प्रदेश सरकारले केही वर्षदेखि प्रदेशका सरकारी अस्पतालहरुमा निःशुल्क रगत प्रदान गर्ने कार्य गर्दै आएकोमा रेडक्रस रुपन्देही शाखाले प्रशंसा गर्दै यो कार्यलाई अझ बिस्तार गरि प्रदेशभरिका सवै सरकारी तथा निजी अस्पतालहरुमा पुर्याउनका लागि माग गरेको छ ।

रक्तदानमा महत्वपूर्ण भूमिका निभाउने संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमील्सिनाले रुपन्देही रेडक्रसको योगदान वारे चर्चा गरे । लुम्बिनी प्रदेशका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि आउने र रगतको आववश्यकता परेका विरामीलाई सहज र छिटोछरितो रुपमा उपलब्ध गराउनेतर्फ आफू प्रयत्नशिल रहेको बताए ।

प्रतिक्रिया