३६ वर्षपछि बालविकास विद्यालयले मनायो पहिलो वार्षिक उत्सव

मर्चवार न्यूज 380+ समाचार ( )
११ जेठ २०८३, सोमबार

मर्चवार । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–२, मुडिलास्थित श्री बालविकास आधारभूत विद्यालयमा स्थापना भएको ३६ वर्षपछि पहिलो पटक वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइएको छ। शुक्रबार विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रमबीच उक्त दिवस सम्पन्न गरिएको हो।

वि.सं. २०४७ साल जेठ ८ गते स्थापना भएको विद्यालयले पहिलो पटक आयोजना गरेको वार्षिक उत्सवका अवसरमा विद्यालयका जग्गादाता, पूर्व प्रधानाध्यापक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पूर्व शिक्षकहरूलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक विजयशंकर मिश्रले जानकारी दिनुभयो। साथै विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कारसहित सम्मान गरिएको उहाँले बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोदकुमारी श्रीवास्तवले विद्यालय स्थापनामा योगदान पु¥याउने सबैप्रति आभार व्यक्त गर्नुभयो। विद्यालयका लागि जग्गादान गर्ने स्वर्गीय विसम्भर बरईको योगदानको प्रशंसा गर्दै उहाँले विद्यालयको थप विकास र उन्नतिको जिम्मेवारी अहिलेको पुस्ताको काँधमा रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “स्थापनाकालदेखि नै म यस विद्यालयसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको छु। हिन्दू, मुस्लिम, सिख र इसाई समुदायका व्यक्तिहरूले विद्यालयको स्तरोन्नतिका लागि महत्वपूर्ण योगदान दिएका छन्।”

विद्यालयको व्यवस्थित विकासका लागि शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका तथा शिक्षाप्रेमी सबै पक्षबीच सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। साथै आगामी आर्थिक वर्षमा विद्यालयका लागि दुई कोठे शैक्षिक भवन निर्माण गर्न बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुमारी प्रियंका साही सिंहले बालबालिकाको निगरानी र उचित हेरचाहमा अभिभावक, विशेषगरी महिलाहरू सक्रिय हुनुपर्ने बताउनुभयो। उहाँले पछिल्लो समय मोबाइल फोनको अत्यधिक प्रयोगका कारण बालबालिकाप्रति अभिभावकको ध्यान कम हुँदै गएको टिप्पणी गर्नुभयो।

उहाँले भन्नुभयो, “हरेक व्यक्तिको हातमा मोबाइल पुगेपछि धेरै अभिभावकले बालबालिकाको हेरचाहमा पर्याप्त समय दिन सकेका छैनन्। बालबालिकाले अभिभावकसँग समय बिताउन खोज्दा पनि मोबाइल थमाइने प्रवृत्ति बढेको छ, जसले उनीहरूको आँखाको स्वास्थ्य र मानसिक विकासमा नकारात्मक असर पु¥याएको छ।”

सम्मरीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहले अभिभावकहरू स्वयं विद्यालय पुगेर आफ्ना बालबालिकाको शैक्षिक भविष्यप्रति चासो दिनुपर्नेमा जोड दिनुभयो। विद्यालयको व्यवस्थापन, शिक्षकहरूको गतिविधि तथा विद्यालयका आवश्यकताबारे शिक्षक, कर्मचारी, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिसँग समन्वय गरी अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

विद्यार्थीहरू विद्यालय जाने समय, घर फर्किएपछि गर्ने गतिविधि तथा घरमा अध्ययन गर्ने वातावरणको उचित व्यवस्थापन गरी जिम्मेवार अभिभावक बन्न उहाँले आग्रह गर्नुभयो।

उत्सवमा वडा नं. २ का वडाध्यक्ष अजय गुप्ता, गाउँपालिका शिक्षा शाखा प्रमुख रामदास गौड, मर्चवार निजी अंग्रेजी विद्यालय संगठनका अध्यक्ष जितेन्द्र यादव, विद्यालयका शिक्षक तथा विभिन्न व्यक्तित्वहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सजरुद्दीन शेषको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षिका धनकला विकले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार