मर्चवार, ९ जेठ । रुपन्देही प्रहरीले नक्कली नेपाली नोट उत्पादन तथा कारोबारमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट नक्कली नोट छाप्न प्रयोग हुने कम्प्युटर, प्रिन्टरलगायतका सामग्री समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत, उत्तर प्रदेशको सिद्धार्थनगर जिल्ला ककरहवा–नौगढ निवासी ३८ वर्षीय अव्दुल हमिद र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिनाका २२ वर्षीय अनिल पासी (बिक्की) रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाको क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट नक्कली नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैँची तथा छापिसकिएका र छाप्न बाँकी रहेका नक्कली नोटहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र अन्य संलग्न व्यक्तिको खोजी कार्य समेत जारी रहेको प्रहरीले जानकारी दिएको छ।