मर्चवार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले स्थानीय तहस्तरमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम शुक्रबार कोटहीमाई गाउँपालिकामा आयोजना गरिएको हो ।
कार्यक्रममा कोटहीमाई गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सुरक्षा निकायका प्रतिनिधि, गाउँपालिका भित्र रहेका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलकी प्रमुख बिनिता भट्टराईका अनुसार कार्यक्रममा भ्रष्टाचारको परिभाषा, संवैधानिक व्यवस्था, सुशासनको वर्तमान अवस्था, कानुनी तथा संरचनागत व्यवस्था, रणनीति, भ्रष्टाचारजन्य कसुर तथा सजाय, आयोगको क्षेत्राधिकार, उजुरी दर्ता तथा छानबिन प्रक्रिया, हाल प्राप्त उजुरीहरूको अवस्था लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले यस्ता अन्तरक्रियाले जनप्रतिनिधि र कर्मचारीहरूमा जिम्मेवारीबोध तथा इमान्दारिताप्रति थप ऊर्जा प्रदान गरेको बताउनुभयो। उहाँले आजको सानो लापरवाहीले भोलि सामाजिक प्रतिष्ठामा ठूलो आँच पुग्न सक्ने भएकाले सबै सचेत रहनुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष त्रिपाठीले कर्मचारी र जनप्रतिनिधिहरूलाई नियम तथा कानुनप्रति सजग भई कार्यसम्पादन गर्न आग्रह गर्दै भन्नुभयो, “कानुनको पालना गरेमा समाज भ्रष्टाचारमुक्त र सुशासनमुखी बन्न सक्छ। हामी सबैले कानुनको पूर्ण पालना गरे देशको विकास र समृद्धि सम्भव हुन्छ।”
कार्यक्रममा कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादव, वडा नं. ५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता संजयकुमार सैनी, शिक्षा शाखा प्रमुख अमृता बुढाथोकी, तुनिहवा माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवपुजन यादव लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो।