मर्चवारका प्रहरी चौकीको निरीक्षणमा डिआईजी खत्री

मर्चवार न्यूज 375+ समाचार ( )
२४ वैशाख २०८३, बिहीबार

मर्चवार । नेपाल प्रहरी लुम्बिनी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआईजी) भूपेन्द्रबहादुर खत्रीले रुपन्देहीको मर्चवार क्षेत्रमा रहेका प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयहरूको निरीक्षण गर्नुभएको छ ।

मंगलबार डिआईजी खत्रीले सीमा क्षेत्रका प्रहरी इकाइहरूको भौतिक अवस्था, नागरिकलाई प्रदान गरिँदै आएको सेवा, सुरक्षा व्यवस्थापन तथा जनप्रतिनिधिसँगको समन्वयबारे स्थलगत निरीक्षण गर्नुभएको हो ।

उहाँले प्रहरी चौकी बागाैली, पाण्डेय पिपरहवा, सुमेरगढ, करौता, रोइनिहवा तथा इलाका प्रहरी कार्यालय मझगावाँ लगायतका प्रहरी कार्यालयहरूको निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा प्रहरी चौकीहरूको भौतिक पूर्वाधार, प्रहरी कर्मचारीहरूको बसोबासको अवस्था, सेवा प्रवाह तथा सुरक्षा चुनौतीबारे जानकारी लिनुभएको थियो ।


त्यसैगरी, डिआईजी खत्रीले स्थानीय नागरिक, जनप्रतिनिधि, कर्मचारी तथा राजनीतिक दलका प्रतिनिधिहरूसँग भेटघाट गरी प्रहरी सेवाबारे सुझाव तथा गुनासो समेत सुन्नुभएको बताइएको छ ।

निरीक्षणका क्रममा देखिएका सामान्य समस्या तत्काल सुधार गर्न तथा नागरिकलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रवाह गर्न सम्बन्धित प्रहरी प्रमुखहरूलाई आवश्यक निर्देशन दिइएको उहाँले बताउनुभयो ।

डिआईजी खत्रीले केही प्रहरी चौकीमा भवन अभाव, जीर्ण संरचना तथा सवारी साधन व्यवस्थापनमा चुनौती रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि स्थानीय तह, प्रदेश सरकार र प्रहरी प्रधान कार्यालयसँग समन्वय गरी आवश्यक पहल गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै