मर्चवार । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार आशुतोष मिश्रले किसानका खेतबारीमा सिँचाइ सुविधा पु¥याई कृषि उत्पादन बढाउने प्रतिबद्धता जनाउनु भएको छ । उत्पादन वृद्धि गरेर नागरिकको जीवनस्तर उकास्ने उहाँको लक्ष्य रहेको छ ।
निर्वाचन क्षेत्रका अधिकांश बासिन्दा कृषिमा निर्भर रहेकाले वर्षौँदेखि सिँचाइका लागि हारगुहार गर्दै आए पनि कुनै नेताले वास्ता नगर्नु लज्जास्पद विषय भएको उहाँले बताउनुभयो । त्यसैले सिँचाइ व्यवस्थापनलाई आफूले प्रमुख एजेन्डा बनाएको उहाँको भनाइ छ। अहिलेसम्मका नेताले किसानलाई ‘भोट बैंक’ का रूपमा मात्र प्रयोग गरेकाले अब त्यस्तो नहुने उहाँले स्पष्ट पार्नुभयो।
‘मैले धोका दिने छैन,’ उहाँले भन्नुभयो, ‘सिँचाइको पीडा मैले देखेको छु, त्यसैले पहिलो काम सिँचाइ व्यवस्थापन नै हुनेछ।’
उहाँका अनुसार मर्चवार लिफ्ट सिँचाइ आयोजनाको क्षेत्र विस्तार हुन नसकी उल्टै घटिरहेको छ। पहिलो चरणमा उक्त आयोजनालाई पूर्ण रूपमा व्यवस्थित गरी मर्चवारका खेत–खेतमा सिँचाइ पु¥याइने प्रतिबद्धता उहाँले जनाउनुभयो। आयोजनाको पहुँच नपुगेका क्षेत्रमा डीप ट्युबवेल र सोलार लिफ्ट सिँचाइमार्फत व्यवस्था मिलाइने उहाँको योजना छ। यसरी सिँचाइ पुगेपछि मर्चवारसँगै सियारी, मायादेवीलगायत पालिकामा पनि कृषि उत्पादन वृद्धि हुने उहाँको आकलन छ। उत्पादन बढेपछि नागरिकको जीवनस्तर उकासिने उहाँले बताउनुभयो।
मर्चवार क्षेत्रलाई रुपन्देहीको अन्न भण्डारका रूपमा चिनिन्छ। यहाँ धान, गहुँ, तोरी, तरकारी तथा फलफूल उत्पादन हुँदै आएका छन्। यस्ता कृषि उपजको न्यूनतम समर्थन मूल्य कायम गरी किसानको लगानी खेर नजाने वातावरण बनाउन आफू तयार रहेको उहाँले बताउनुभयो। स्वदेश तथा विदेशमा समेत ब्रान्डिङ भइसकेको छपियाको माछालाई बजार विविधीकरण गरी सर्वत्र बिक्रीको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो।
‘कृषकको आय बढाउन र कृषिलाई उद्यमसरह मान्यता दिलाउन भूमिका खेल्नेछु,’ उहाँले भन्नुभयो, ‘किसान कार्ड र कृषि बीमा कार्यक्रम लागू गर्नेछु।’ साथै, दुग्ध किसानलाई अनुदानको व्यवस्था गरी उत्पादन वृद्धि गर्न प्रोत्साहन गरिने उहाँले बताउनुभयो ।
रुपन्देही–४ का विभिन्न स्थानमा चिस्यान केन्द्र स्थापना गरी किसानका उत्पादन सुरक्षित गरिने तथा बजार व्यवस्थापनका लागि संकलन केन्द्र निर्माण गरिने मिश्रले जनाउनुभयो ।
यसपटक मर्चवारमा अधिकारको लडाइँ भइरहेको उल्लेख गर्दै उहाँले कसैको बहकाउमा नलाग्न मतदातालाई आग्रह गर्नुभयो। ‘पटक–पटक दोहो¥याएर भोट माग्न आउने छैन,’ उहाँले भन्नुभयो, ‘यो पटक निर्वाचित हुने मौका दिनुस्। मतदाताको भरोसा टुट्न दिने छैन। त्यसपछि म फेरि उम्मेदवार बन्दा कामकै आधारमा मत माग्न नआए पनि तपाईंहरूले मत दिनुहुनेछ।’