मर्चवार । बुटवलका तीन वटा रोटरी क्लबको संयुक्त आयोजनामा रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ स्थित श्री लालबिहारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूको आँखा तथा दाँत परीक्षण शिविर सम्पन्न भएको छ ।
सोमबार आयोजित शिविरमा विद्यालयका करिब ३ सय विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको कार्यक्रम संयोजक बाबुराम भट्टराईले जानकारी दिनुभयो । रोटरी क्लब मेडिको फ्युजन, रोटरी क्लब अफ सेन्ट्रल बुटवल तथा रोटरी क्लब अफ तिनाउ बुटवलको संयुक्त आयोजना तथा श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवा र आले डेन्टल क्लिनिक, बुटवलको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिकाको आधारभूत स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै शिविर आयोजना गरिएको रोटरी क्लबका अध्यक्ष पुरनबहादुर ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार आँखा परीक्षण गरिएका करिब १ सय विद्यार्थीमध्ये करिब १० प्रतिशतमा सामान्य समस्या देखिएको छ । त्यसैगरी दाँत परीक्षण गरिएका २ सय विद्यार्थीमध्ये २५ जनामा दाँतसम्बन्धी सामान्य समस्या भेटिएको उहाँले बताउनुभयो ।
समस्या देखिएका विद्यार्थीहरूलाई आवश्यक औषधि वितरण गर्नुका साथै स्वास्थ्यसम्बन्धी परामर्श समेत प्रदान गरिएको अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो । नियमित स्वास्थ्य परीक्षणले बालबालिकामा हुने विभिन्न स्वास्थ्य समस्याको समयमै पहिचान र उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।
रोटरी क्लब अफ सेन्ट्रल बुटवलकी अध्यक्ष उमा आचार्यले समाजसेवामूलक कार्यलाई प्राथमिकतामा राखेर विद्यालयस्तरमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले रोटरी क्लबहरूले स्वास्थ्य, सरसफाइ, शिक्षा, अपाङ्गता भएका व्यक्तिहरूको सहयोग, विपन्न तथा न्यून आय भएका परिवारहरूको उत्थानका लागि विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
शिविरबाट विद्यार्थी, अभिभावक तथा विद्यालय परिवार लाभान्वित भएको जनाइएको छ । विद्यालय व्यवस्थापन समितिले यस्ता कार्यक्रमले बालबालिकाको स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै आयोजक संस्थाहरूप्रति आभार व्यक्त गरेको छ ।