मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रबाट काठमाडौंका लागि एसीसहितको रात्रीकालीन बस सेवा सुरु भएको छ । दैनिक सञ्चालन हुने उक्त बस मर्चवारीमाई गाउँपालिका–३ सेमराबाट साँझ ६ बजे काठमाडौंका लागि छुट्ने बसका सञ्चालक प्रेमबहादुर पौडेलले जानकारी दिनुभयो ।
बुधबार आयोजित एक कार्यक्रममा मर्चवारीमाई गाउँपालिका अध्यक्ष गया प्रसाद बरई तथा सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोदकुमार श्रीवास्तवले रिबन काटेर बस सेवाको शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बरईले एसीसहितको सुविधासम्पन्न बस सेवाले मर्चवारवासीलाई ठूलो राहत पुग्ने बताउनुभयो । काठमाडौं जानका लागि भैरहवा वा बुटवलसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुँदै आफ्नै घरअगाडिबाट आरामदायी बस सेवा पाउनु महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ थियो ।
उहाँले जीर्ण सडकमा नयाँ तथा सोफायुक्त बस सञ्चालन गरेकोमा कम्पनीलाई धन्यवाद दिँदै नियमित सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बस सञ्चालनमा अवरोध बनेका रुख व्यवस्थापनमा समेत गाउँपालिकाले सहकार्य गरेको उहाँले बताउनुभयो ।
सम्मरीमाई गाउँपालिका अध्यक्ष श्रीवास्तवले स्थानीयवासीको संरक्षण र अपनत्वले बस सेवा नियमित तथा प्रभावकारी रूपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले घरबाटै सुविधायुक्त बस चढेर काठमाडौं पुग्न सकिने सन्देश फैलाउँदै सेवाको प्रवद्र्धन गर्न सबैलाई आग्रह गर्नुभयो ।
अध्यक्ष श्रीवास्तवले “मर्चवार विकट नभई केन्द्र सरकारको नजरबाट टाढा परेको क्षेत्र मात्र हो” भन्दै यहाँ आवश्यक सेवासुविधा सञ्चालन गर्न सहज भए पनि सरकारी चासोको अभाव रहेको उल्लेख गर्नुभयो ।
बस सञ्चालक पौडेलका अनुसार बसमा सोफायुक्त सिट, निःशुल्क वाइफाइ, फुल एसी, पंखा, एलईडी तथा सुरक्षाका लागि सिसिटिभी क्यामरा जडान गरिएको छ । बसमा ३७ वटा सोफा सिट र दुई वटा स्लीपर क्याबिन रहेका छन् । साथै पाँचतारे स्तरको सेवा दिने लक्ष्यसहित साउन्ड सिस्टमसमेत जडान गरिएको उहाँले जानकारी दिनुभयो । सेमरा, भैरहवा र परासी हुँदै काठमाडौंसम्म नियमित सेवा सञ्चालन हुने बताइएको छ ।
जनार्दन यादवको अध्यक्षतामा सम्पन्न बस सेवा शुभारम्भ कार्यक्रममा मर्चवारीमाई गाउँपालिका उपाध्यक्ष आशा सिंह, वडा नं. ५ का वडाध्यक्ष कृष्णकुमार सिंह लगायतले मन्तव्य राख्नुभएको थियो ।