मर्चवार — मर्चवार क्षेत्रका अधिकांश चोकहरू फोहोरका कारण दुर्गन्धित बन्दै गएका छन् भने सिँचाइका नहरहरू समेत जाम हुन थालेका छन्। कोटहीमाई, मर्चवारीमाई र सम्मरीमाई गाउँपालिकाका विभिन्न चोकहरूमा व्यवसायबाट निस्केको फोहोर सार्वजनिक स्थानमै थुपारिँदा वातावरण प्रदूषित हुनुका साथै व्यवस्थापनमा थप चुनौती सिर्जना भएको छ ।
कोटहीमाई–७ परसहवा, मर्चवारीमाई–७ बगौली चोक, मर्चवारीमाई–२ अमवा चोक, मर्चवारीमाई–३ रायपुर चोक, सम्मरीमाई–७ बेतकुइयाँ बजार, सम्मरीमाई–४ जिगिना चोक तथा कोटहीमाई–५ मझगावाँमा फोहोरका कारण नहर तथा कुलो जाम भएका छन् ।
मर्चवारीमाई–३ का स्थानीय दीपचन्द यादवका अनुसार नागरिक सचेतनाको अभाव र स्थानीय सरकारको बेवास्ताका कारण अहिले सामान्य देखिएको फोहोर व्यवस्थापन समस्या भविष्यमा ठूलो संकटमा परिणत हुन सक्छ। उनले व्यवसायिक वा घरायसी फोहोर आफैंले व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै प्लास्टिक सजिलै नगल्ने भएकाले जथाभावी फाल्दा विभिन्न संक्रमण फैलिनुका साथै माटोमा समेत असर पर्ने बताए ।
उनले भने, “कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्नुपर्छ, अन्यथा स्थानीय सरकारले कडा नियम लागू गरी एकीकृत व्यवस्थापन प्रणाली अपनाउनुपर्छ।”
अव्यवस्थित फोहोर व्यवस्थापनले जनस्वास्थ्यमा गम्भीर असर पार्ने मर्चवारीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन शाहले बताए। उनका अनुसार थुपारिएको फोहोर लामखुट्टेहरूको प्रमुख बासस्थान बन्ने भएकाले महामारी फैलिने जोखिम बढेको छ। समयमै व्यवस्थापन नभए हैजा, ज्वरो, रुघाखोकी जस्ता रोगहरू स्थानीय क्षेत्रमा महामारीको रूप लिन सक्ने उनले चेतावनी दिए।
कोटहीमाई गाउँपालिकाका वास संयोजक अजय सिंह क्षेत्रीले अव्यवस्थित फोहोरले मानव मात्र नभई जनावर, माटो र वनस्पतिमा समेत नकारात्मक असर पार्ने बताए। उनका अनुसार प्लास्टिकजन्य फोहोरले कुलो–नहर भरिँदा माटोको गुणस्तर बिग्रिने, जनावरहरूको स्वास्थ्यमा असर पर्ने तथा बोटबिरुवाको विकासमा अवरोध सिर्जना हुने गरेको छ।
सरसफाइ तथा फोहोर व्यवस्थापनलाई जनप्रतिनिधिहरूले प्राथमिकतामा नराखे भविष्यमा समाजका लागि ठूलो समस्या बन्ने उनले बताए। यद्यपि नीतिगत रूपमा स्थानीय सरकारले फोहोर व्यवस्थापनमा चासो देखाउन थालेको उनको भनाइ छ।
मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष राजेन्द्र यादवका अनुसार नहरमा फोहोर फाल्ने प्रवृत्तिका कारण वर्षेनी १५ लाख रुपैयाँभन्दा बढी रकम नहर सफाइमा खर्चिनुपरेको छ। मझगावाँ, परसहवा, रायपुर, जिगिना लगायतका बजारका उद्योगी–व्यवसायीहरूले नहरलाई फोहोर फाल्ने थलो बनाउँदा सिँचाइ प्रणाली नै प्रभावित भएको उनले बताए।
यसैबीच, मर्चवारीमाई गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले चियापसलहरूमा प्लास्टिक गिलास हटाई माटाका भाँडाहरू अनिवार्य प्रयोग गर्ने नीति कार्यान्वयन गर्न लागिएको जानकारी दिए। यसले वातावरण स्वच्छ बनाउनुका साथै माटाका भाँडा उत्पादन गर्ने स्थानीयलाई रोजगारी सिर्जना गर्ने उद्देश्य राखिएको छ।
अव्यवस्थित फोहोर व्यवस्थापनका कारण मर्चवार क्षेत्रमा विभिन्न गम्भीर समस्याहरू उत्पन्न भइरहेका छन्। यसले वातावरण प्रदूषण बढाउनुका साथै दुर्गन्ध फैलाउने, पानीका स्रोतहरू दूषित बनाउने र सिँचाइ प्रणाली अवरुद्ध गर्ने काम गरिरहेको छ। साथै, लामखुट्टे तथा रोग सार्ने कीटहरूको वृद्धि भई हैजा, ज्वरो, रुघाखोकी जस्ता संक्रामक रोग फैलिने जोखिम बढेको छ। प्लास्टिकजन्य फोहोरले माटोको उर्वराशक्ति घटाउने, बोटबिरुवाको वृद्धि रोक्ने र जनावरहरूको स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने देखिएको छ। यसका साथै नहर सफाइमा बढ्दो आर्थिक भार, कृषि उत्पादनमा कमी र समग्र जनजीवनमा प्रतिकूल असर पर्ने अवस्थासमेत सिर्जना भएको छ। समस्या समाधानका लागि नागरिकको सचेतना, जिम्मेवार व्यवहार र स्थानीय सरकारको प्रभावकारी पहल अत्यावश्यक देखिएको छ।