मर्चवार २६ कार्तिक । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं। ४ को कार्यालय नखुल्दा सेवाग्राही मार्कामा परेका छन् । सोमबार कुनै विदा नरहेको दिन पनि दिउँसो १ बजे सम्म वडा कार्यालय नखुल्दा विभिन्न सेवा लिन आउने सेवाग्राहीहरु सेवा नपाई फर्कन बाध्य भएका छन् ।
वडा सचिव सहितका ४ कर्मचारी रहेका उक्त वडा कार्यालयमा सोमबार कार्यालय सहयोगी समेत नआएपछि वडा कार्यालय बन्द हुनुको साथै सबै सेवा ठप्प भएको हो । नागरिकताको सिफारिस लिन आएका एकजना सेवाग्राहीले बिहान १०ः३० बजे देखि १२ः४५ बजे सम्म उक्त वडा कार्यालय अगाडी कार्यालय खुल्ने पर्खाई बसेपनि कार्यालय नखुलेको उनले गुनासो गरे । उनले भने ‘वडा कार्यालय नखुल्दा न वडाध्यक्षलाई चिन्ता छ न गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई, समस्या त हामी खेपेका छौँ । यसको अनुगमन कस्ले गर्ने रु ।’ ‘कृषिको समय रहेको हुँदा हामी अति आवश्यक कार्य भएर आएका हौँ तर अति आवश्यक काम पनि ठप्प गरी कार्यालय बन्द गरिएको छ ।’ सेवा लिन आएकी एक महिलाले भनिन ।
मर्चवारी गाउँपालिका वडा नं। ४ का वडाध्यक्ष ओमप्रकाश चौधरीले आफुले कार्यालय कै कार्यले भैरहवा गएको बताए । उनले भने ‘२ वटा कर्मचारी बिरामी भई उपचारको लागि भैरहवा गएका छन् र वडा सचिव अनिल कुमार धवल कुनै बैठकमा गएका छन् । अहिले तत्काल सचिव र कर्मचारीलाई पठाएर वडा कार्यालय खोल्न लगाउने छु । ’