भैरहवा, १६ मंसिर / चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० को आइटी क्षेत्र अन्तर्गत स्टल नम्बर १ र २ मा एक हुल झुम्मिएको थियो ।कोही कुर्सीमा बसेर सेल्फी क्यामेरामा अनुहार हेर्दै थिए भने कोही स्टलमा सजाइएको फ्रेम हेर्दै मुस्कुराइरहेका थिए । भिड देखेर चित्रकारहरुको ब्रस चलाउने रफ्तार पनि तीव्र थियो । एकै साथ ५–६ जना कलाकारलाई भ्याइनभ्याइथियो ।
कोही हेर्नलाई बसेका थिए भने कोही पालो कुरेर । यो दृश्य सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा जारी महोत्सवमा फेस पेन्ट गर्ने जमातको थियो ।
हातमा ब्रस र रङ लिएर मेला अवलोकनको अनुहारमा नेपालको झण्डालगायत विभिन्न आकृतिहरु बनाउने काम चित्रकारहरुले गरिरहेका थिए । ग्राहकको इच्छाअनुसार भनेकै आकृति उनीहरुले दर्शकको अनुहारमा उतार्ने काम गरिरहेका थिए ।
यी सबै दृश्य नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्यसमिति, रुपन्देहीको स्टलमा हो । मेलामा सबैको अगाडि अनुहारमा चित्रकला देखाउने अवसर पाएको संघका अध्यक्ष उज्जवल कुमार दे कास्तले बताए । ‘यो हाम्रो लागि ठूूलो अवसर हो यस्तो ठाउँ हामीले पाएका छौं, जहाँ आफ्नो कला देखाइरहेका छौं, ’उनले भने ।
‘पहिलो दिन केही बालबालिकाहरुको अनुुहारमा राष्ट्रियता झल्किने नेपालको राष्ट्र झण्डाफेस पेन्ट गरेका थियौं त्यसैबाटै राम्रा सन्देश गएर अहिले भिडभाड हुने गरेको छ, ’उनले भने ।
आफूहरु मेला, महोत्सवमा यसरी समूहमा कलाकार जुटेर फेसपेन्ट गरेको पहिलो अनुभव रहेको नेपाल कमर्शियल आर्टिष्ट संघ रुपन्देहीका कोषाध्यक्ष बिसन गुरुङले बताए ।‘मुहारमा पेन्ट गर्ने सौख बढ्दै गएको छ । आफूलाई अरूभन्दा पृथकदेखाउन पनि रहरको लागि फेस पेन्ट गर्ने गर्दछन् । महोत्सवमा अनुहारमा यो कलालाई अवलम्बन गर्ने लाइनमा नै बस्ने गर्छन । फेस पेन्ट पछिल्लो क्रममा फेसन स्टाइलकै रूपमा लोकप्रिय बनिरहेको छ, ’कोषाध्यक्ष तथा चित्रकार गुरुङले भने ।
‘बालबालिका, युवा मात्रै होइन, व्यस्कहरु पनि यो स्टाइलमा झुमिएका छन् । गालामा विभिन्नआकृति बनाउदा फेसनेबल त देखाउँछ, ’अरु भन्दा पृथकपनि देखाउँछ फेस पेन्ट गराइरहेकी प्रिती क्षेत्रीले भनिन् । आफूलाई लागेको सौख पूरा गरेको उनको भनाइ छ ।
फेसनमा केही अगाडि बढ्दै गएको माहोलमा भैरहवामा पनि फेस पेन्टको क्रेज बढ्न लागेको छ । ठूलाठूला कार्यक्रम वा मेला महोत्सव, म्यूजिकल कन्सर्टदेखि खेल प्रतियोगितामा मुहारमा विभिन्न आकृति सहितको फेस पेन्ट गर्न धेरैले रुचाउँछन् । मुहार रंग्याउनेले सानो÷ठूलो आकृति बनाएर केही शुल्क भने लिने गरेको संघले जानकारी दिएको छ ।
अहिले मेलामा पनि फेस पेन्ट बनाउन आउने युवाको मागले कलाकारलाई पनि भ्याइनभ्याइछ । आफूलाई मन परेका विभिन्न आकृति, नेपालको झण्डा, पुतली, फूल, एङ्ग्री बर्ड, हेल्लो किट्टी, फुटवल, आगोको भिल्का, नाम लगायत विभिन्न आकृतिमा फेस पेन्ट गराएको छन्, बालबालिकादेखि युवायुवतीको रोजाइ नै भिन्नभिन्न आकृतिको फेस पेन्ट भएको छ ।
नेपाल कमर्शियल आर्टिष्ट संघ, जिल्ला कार्यसमिति रुपन्देहीले महोत्सवमा सहयोगार्थ स्टल राखेको छ । आर्टिष्टहरुलाई राज्यले उपेक्षित गरेको भन्दै कला व्यवसायीहरुले हकहित, पहिचान, संरक्षण र सम्मानका लागि एकताबद्ध भएका छन । कलासँग सम्बन्धित व्यवसायी स्वरोजगार कलाकारहरूको पेशागत हकहितको रक्षाका लागि एकजुट भएको उनीहरु बताउँछन् । फरकफरक व्यापारिक प्रतिष्ठानका सञ्चालकहरु पालैपालो आफ्नो कलालाई मेला अवलोकनकर्ता सामु पुर्याउनका लागि मेला एउटा थलो बनेको उनीहरुको भनाइ छ ।
कला व्यवसाय गरेर हजारौं परिवारको जीविकोपार्जन चलेपनि पछिल्लो समय यो पेशामा संकुचन आइपेशा नै संकटमा पर्न लागेको कलाकारहरु बताउँछन । ‘पहिलोपटक मेलामा संघले स्टल राखेको छ । कलाकारले कला अनुसारको मूल्य नपाएको, राज्यको हामीप्रति हेर्ने दृष्टिकोण र पहिचानलाई संकुचित गर्दै गरेकोले रोजगारी खोसिने अवस्था आएको छ, ’डिजाइनर आकाश चौधरीले भने ।
उनीहरुले कला, सीप र क्षमताको मूल्यांकन नहुने, जो वास्तविक कलाकार वा श्रमिक छ उसको श्रम शोषण हुने, ठूला पूँजी र गैरआर्टिस्ट वर्गको अधिनभित्र रहेर काम गर्नुपर्दा वास्तविक कलाकार श्रमिकहरूको श्रम शोषण हुने तथा राज्यबाट समेत कलाजिवीहरूको दायरालाई संकुचित पार्ने काम भएको बताए ।
संघ अन्तर्गत पेन्टिङ, बोर्ड, ब्यानर लेख्ने, डिजाइन गर्ने, थान्का पेन्टिङ, मिथिला आर्ट ग्लो साईनबोर्ड मूर्तिकला, चित्रकला, रबर–सेल्फ छाप, फ्लेक्स प्रिन्ट, मेटल इचिङ, मार्बल इचिङ (शिलालेख), डिजिटल बोर्ड, मेटल लेटर वक्र्स, स्टेज, स्टल डेकोरेशन ललितकला, ग्लास इचिङ, वाल पेन्टिङ, होर्डिङ बोर्ड, चित्रांकन, कार्टुन चित्र, छपाईसम्बन्धी कार्य गर्ने श्रमिक, टू–डी÷थ्री–डी बोर्ड, सिल्क आर्ट, काष्ठकला र हस्तकलालगायत व्यवसायीहरू छन् ।