भाद्र शुक्ल तृतीयाका दिन हिन्दुधर्मावलम्बी महिलाहरुले मनाउने एक पबित्र पर्व हो तीज । आजकल तीजपर्वको धार्मिक महत्त्व बुझ्नुभन्दा पनि देखासिकी गरि तडक भडकका साथ यो पर्व मनाउने गरिएको छ । यो पर्वको सांस्कृतिक महत्वको बारेमा सबैले जान्नु आवश्यक छ ।
तीज पर्व जसलाई हरितालीका तीज भन्ने गरिन्छ ।यो ब्रतलाई हरितालिका भन्नुको अर्थ पनि पार्वतीलाई साथीहरूले पिता र आफ्नो प्रदेशबाट हरण गरी जंगलमा लगेको प्रसङ्गसँग जोडिन्छ ।हरितालिका शब्दमा रहेका हरिता र आलिका यी दुई शब्दको अर्थ पनि क्रमशः हरण गरिएकी र साथीहरू भन्ने हुन्छ अर्थात शिवजीलाई नै पति रूपमा प्राप्त गर्ने पार्वतीको चाहना र तपस्या विरुद्ध पार्वतिका बुबा हिमालय पर्वतले विष्णुसंग विवाह गरिदिने कुराको विद्रोह गर्दै पार्वतीका संगीसाथीहरूले जङ्गलमा लगेर लुकाएर राखेको हुनाले यसलाई हरितालिका भनिएको हो । यश ब्रतमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रूपले नेपाल भर मनाईन्छ भने भारत का कुनै कुनै प्रान्तमा मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिईन् त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् । तीजको अघिल्लो दिनलाई दरखाने दिन भनिन्छ ।यो दिनमा माइती (बाबु आमा,दाजुभाइ)ले छोरी÷चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुख दुःख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन छ । यस दिन विशेष महत्वका साथ दर खाने गरिन्छ । यहि दर खाने दिन बाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न मिठा–मिठा परिकारका साथै खीर , ढकने, सेलरोटी , केरा लगायतका खाना,फलफुल खाने गरिन्छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । तर दहीमा काक्रोको टुक्रा मिसाएपछि जुन खानेकुरा बन्छ, त्यो दर हो। दरको खास अर्थ यही हो। दर तीजको अघिल्लो रात खाने गरिन्छ र दर खाए सँगै तीज सुरु हुन्छ । तीजको दिनभर व्रत बस्नु पर्ने र पानी सम्म नपिउने जसकारण तीजको दिन भोक नलागोस् भनेर अघिल्लो रात १२ः०० बजे पूर्व खानेकुरा खाने चलन परापूर्व देखि चली आएको हो । दर परापूर्व कालको चलनमा शुद्ध शाकाहारी खाद्यान्न खाएर मनाउने चलन छ । दरमा दही, घिउ, खिर, काक्रो, स्याउ, केरा, दूध, आलुको तरकारी, विरौला (सिमीको तरकारी) जस्ता परिकार खाएर मनाउने मान्यता रही आएको छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो। तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमी लाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । खास गरी यसमा स्त्रीहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्यशक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने गर्दछन । बेलुकी पख घरगाउँ र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जलाब्रत भनिएपनि आजभोली महिलाहरु मध्यान्हमै पुजा आराधना पश्चात फलफूल ग्रहण गर्ने गर्दछन । कतिपय महिलाहरु नजीक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाच गान तथा रमाईलो गर्ने गर्दछन् ।
काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला ब्रतालुहरुको ठूलो भीड हुने गर्दछ ।तीजको धार्मिक पृष्ठभूमि हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वती को कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजी को तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ’चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए। पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ । सृष्टि र समाज चल्नको लागि पनि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर,माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ । तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ । नारीहरूले रातो टीका रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो ।नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ । तीज व्रतको दिन घरको कामकाजलाई चटक्क छोडेर नेपाली महिलाहरू स्वतन्त्र तथा हषिर्त भएर घर बाहिर निस्कन्छन् ।उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरू समेटिएका हुन्छन् । यसले महिलाहरूलाई सशक्त बनाउँछ । यी कुराहरू तीजको सकरात्मक पक्ष हो । हाल विदेशमा रहेका नेपाली महिलाहरूले पनि यो चाड बडो धुमधामका साथ मनाउने गरेको पाइन्छ ।