मर्चवार । कार्तिक शुक्ल षष्ठीको पवित्र अवसरमा सूर्यदेव र षष्ठी माताको आराधनाको महान् पर्व छठ आज सोमबार साँझ भव्य रूपमा मनाइँदैछ । अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै सन्तान, परिवार र समाजको सुख–समृद्धिको कामना गर्ने यस पर्वमा रुपन्देही जिल्लाभर आज भक्तिभावको लहर फैलिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाका १६ वटा स्थानीय तहका २ सय ७७ स्थानमा छठ मइयाको पूजा आराधना भइरहेको छ । बुटवल, तिलोत्तमा र सिद्धार्थनगरजस्ता शहरदेखि गैडहवा, मायादेवी, रोहिणी, मर्चवारी, ओमसतिया र कोटहीमार्इ जस्ता गाउँपालिका हुँदै लुम्बिनी सांस्कृतिक नगरपालिका सम्म श्रद्धालुहरूको भीड देखिन्छ ।
बुटवल उपमहानगरपालिकाका ६ स्थान, देवदह नगरपालिकाका २० स्थान, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ३३ स्थान, सैनामैना नगरपालिकाका ५ स्थान, सिद्धार्थनगरका ४ स्थान र तिलोत्तमा नगरपालिकाका ६ स्थानमा व्रतालुहरूले सूर्यदेवको आराधना गरिरहेका छन् । त्यस्तै गैडहवा गाउँपालिकामा १३, कंचनमा ७, कोटहीमाईमा ३१, मर्चवारीमा १४, मायादेवीमा २६, ओमसतियामा २५, रोहिणीमा ३६, सम्मरीमाईमा २७, सियारीमा १७ र शुद्धोधनमा ७ स्थानमा भक्तिपूर्वक पूजा सम्पन्न भइरहेको प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
उनका अनुसार नदी, नाला, पोखरी र अन्य जलाशयहरूमा सरसफाइ, बेदी निर्माण, घडाको सजावट र दीप प्रज्वलन गरी पूजाआराधना भइरहेको छ । भक्तजनहरूको सुरक्षालाई लक्षित गर्दै सम्पूर्ण जिल्लामा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।
छठ पर्वको मूल सार सूर्यप्रति कृतज्ञता, मातृत्व र श्रद्धाको प्रतीक हो । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने यो पर्व बिहीबारदेखि सुरु भएको हो । आजको दिन अर्थात् षष्ठी तिथिमा व्रतालुहरूले कठोर निराहार बसेर अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्ने छन्, र मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत विधिपूर्वक सम्पन्न हुनेछ ।
धार्मिक ग्रन्थहरूका अनुसार छठ पर्वको आरम्भ महाभारतकालीन युगमा भएको मानिन्छ । द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए भन्ने उल्लेख पाइन्छ । त्यसै समयदेखि छठ मनाउने परम्परा सुरु भएको विश्वास छ । सूर्य पुराणमा अत्रिमुनिकी धर्मपत्नी अनुसूयादेवीले पहिलोपटक छठ व्रत गरेको र त्यसको फलस्वरूप अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको उल्लेख पाइन्छ । त्यसैले यो पर्वलाई नारी श्रद्धा, शुद्धता र पारिवारिक समर्पणको प्रतीकका रूपमा पनि हेरिन्छ ।
सूर्यदेव जीवनका दाता र आरोग्यका अधिपति हुन् । साम्ब पुराणमा भगवान् श्रीकृष्णका पुत्र साम्ब सूर्य आराधनाको प्रभावले कुष्ठरोगमुक्त भएको कथा पाइन्छ । त्यसैले जनविश्वास छ — छठको व्रतले रोग, दरिद्रता र दुःख–कष्टको नाश गर्छ र परिवारमा शान्ति ल्याउँछ ।
चार दिनसम्म चल्ने यो व्रत संयम र निष्ठाको परीक्षा हो । पहिलो दिन व्रतालुले स्नान गरी शुद्ध भोजन ग्रहण गर्छन् । दोस्रो दिन गुड, दूध र चामलबाट बनेको खीर षष्ठी मातालाई चढाई खरना गरी प्रसाद ग्रहण गरिन्छ । तेस्रो दिन अर्थात् आज, व्रतालुले कठोर निराहार बसेर अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् । चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत पारण गरी समाप्त हुन्छ । यस अवधिमा व्रतालुले ४८ घण्टासम्म पानी समेत नखाई उपवास बस्ने परम्परा रहिआएको छ ।
छठको पूजामा बाँसका सूप, डाकी, माटोको दीयो र कोसिया, ठकुवा, भुसुवा, केरा, उखु, अदुवा, हल्दी र विभिन्न फलफूल चढाइन्छ । यी सामग्रीहरू प्रकृति र मानवबीचको पवित्र सम्बन्धको प्रतीक हुन् । अघ्र्य अर्पणका बेला घाटहरूमा दीप प्रज्वलन, आरती र भजनका स्वर गुञ्जिन्छन्, जसले सम्पूर्ण वातावरणलाई भक्ति र शान्तिको उज्यालोले भरिदिन्छ ।
वि.सं. २०४६ अघि तराईका सीमित क्षेत्रमा मनाइने यो पर्व अहिले राष्ट्रिय स्वरूप ग्रहण गरिसकेको छ । त्यस वर्षदेखि सरकारले छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिने परम्परा सुरु गरेको हो । आज रुपन्देहीका घाटहरूमा जसरी हजारौं दीपहरू बलिरहेका छन्, त्यस्तै देशभर श्रद्धा, आस्था र एकताको उज्यालो फैलिएको छ ।
अस्ताउँदो सूर्यका सुनौला किरणमा व्रतालुहरू हात जोड्दै प्रार्थना गर्छन् —“हे दिनानाथ सूर्यदेव, हाम्रो जीवनमा उज्यालो फैलाऊ, परिवारमा सुख, शान्ति र समृद्धि प्रदान गर।”
छठ पर्व केवल पूजा होइन यो निष्ठा, संयम र प्रकृतिप्रतिको कृतज्ञताको सांस्कृतिक उत्सव हो, जसले सम्पूर्ण समाजलाई प्रेम, एकता र आस्थाको सूत्रमा बाँध्दछ ।