मर्चवार । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आज मङ्गलबार बिहान १० बजेदेखि मनोनयन दर्ता प्रक्रिया सुरु हुँदैछ । उम्मेदवारको मनोनयन दर्ताका लागि कोटहीमाई–५ मझगावाँस्थित निर्वाचन कार्यालयमा राजनीतिक दलका प्रतिनिधी र कार्यकर्ताहरुको चहलपहल बढेसँगै रुपन्देही क्षेत्र नं. ४ (मर्चवार) मा राजनीतिक तापक्रम ह्वात्तै बढेको छ ।
तर, यो राजनीतिक सरगर्मीबीच एउटा गम्भीर प्रश्न भने अझै अनुत्तरित छ—यसपटक मर्चवारले केवल नयाँ प्रतिनिधि मात्र पाउनेछ या आफ्नो दशकौँदेखिको पछौटेपनको समाधान पनि ? यसपटक मर्चवारको चुनावी मैदानमा पुराना हस्तीदेखि उदीयमान शक्तिसम्मको भिडन्त रोचक देखिएको छ ।
गत निर्वाचनमा २८ हजार मत ल्याएर विजयी भएका लोसपाका सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्लले तीन पटक जितेको विरासत जोगाउने दाउमा छन । त्यसैगरी २०७९ मा झण्डै ५ हजार मतान्तरले पराजित नेपाली काँंग्रेस यसपटक बदला लिन आशुतोष मिश्रलाई उम्मेदवार बनाएको छ । त्यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टीले अफ्नो केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवलाई मर्चवारको चुनावी मैदानमा उतारेर आफूलाई निर्णायक शक्तिमा बदल्ने कोसिस गर्दैछ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीले निवर्तमान प्रदेस सभा सदस्य कन्हैया बनिया र नेकपा एमालेले सुनिता ठठेरलाई अघि सारेको छ । बनियाले लुम्बिनी प्रदेश सभा सदस्यबाट सोमबार मात्र राजीनामा दिएर रास्वपाबाट उम्मेदवारी दिनुले युवा मत बाँडिने संकेत गरेको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट बाबुलाल यादव र राष्ट्रिय मुक्ति पार्टीबाट ओमप्रकाश यादव (गुल्जारी) पनि प्रतिस्पर्धामा छन ।
यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाल जनता पार्टी, जनमत पार्टी, नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको सक्रियताले मर्चवारमा स्थापित पुराना शक्तिहरूको ‘भोट बैंक’ मा धावा बोल्ने निश्चित छ । मर्चवारीमाई–७ की प्रेमशीला चौधरीले भन्नुभयो, “सुशासन, समृद्धि, महिला र विकासका पक्षमा धेरै आश्वासनहरु सुनियो, अब व्यवहारमा परिवर्तन नहुनेलाई मत दिनुको अर्थ छैन ।”
कोटहीमाई–६ का युवा व्यवसायी तिलक यादवले भन्नुभयो “हरेक चुनावमा नेताहरू हात जोड्दै सपना देखाउनु हुन्छ, तर जितेपछि सबै बिर्सिनु हुन्छ ।” कच्ची सडक र अब्यवस्थित जलाधारका कारण वर्षायाममा मर्चवार टापु जस्तै बन्ने गरेको गुनासो गर्दै उहाँले भन्नुभयो, “सामान्य उपचारका लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छैन । मल, बीउ र सिँचाइको समस्या ज्युँका त्युँ छ ।”
मर्चवार क्षेत्र रुपन्देहीको सुगम जिल्लाभित्र परेर पनि दुर्गमको परिचय बोक्न बाध्य छ । वरिष्ठ पत्रकार राम विकास चौधरीले भन्नुभयो, “शासन र शासकीय स्वरूप फेरियो, तर मर्चवारको शिक्षा, स्वास्थ्य लगायत भौतिक पूर्बाधार र किसानको अवस्था उस्तै छ । अब गफ होइन, ग्यारेन्टी चाहिन्छ ।”
यसपटकको चुनावमा मतदाताले उम्मेदवारको अनुहार होइन, उसको कार्ययोजना र विगतको कार्यसम्पादनलाई हेर्नुपर्ने बेला आएको चौधरीले बताउनुभयो । निर्वाचन कार्यालय मझगावाँमा दर्ता हुने उम्मेदवारको मनोनयनले मात्र मर्चवारको भाग्य बदल्दैन, मतदाताले विवेक प्रयोग गरेर दिने एउटा ‘स्वस्तिक छाप’ ले मात्र यहाँको दशकौँदेखिको पछौटेपन अन्त्य गर्न सक्ने चौधरीको भनाई छ । “मर्चवार अब राजनीतिक ‘प्रयोगशाला’मात्र बन्न चाहँदैन, ऊ परिणाम खोजिरहेको छ”, चौधरीले भन्नुभयो ।
निर्वाचन कार्यालय मझगावाँका निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सुरक्षा र व्यवस्थापनका लागि दलगत रूपमा फरक–फरक समयतालिका पनि बनाइएको बताउदै उहाँले भन्नुभयो, “स्वतन्त्र उम्मेदवारी दिन चाहने उम्मेदवारहरूले तोकिएको समयभित्र जुनसुकै बेला मनोनयन दर्ता गर्न सक्ने ब्यवस्था छ, ।
निर्वाचनमा भाग लिने उम्मेदवारहरूले मनोनयन दर्ता गर्दा मतदाता नामावली ऐन २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०८२ तथा निर्वाचन आचारसंहिता २०८२ बमोजिम तोकिएका सम्पूर्ण कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको निर्वाचन कार्यालयले जनाएको छ ।