मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिका–४ स्थित कोटहीमाई मन्दिर परिसरमा आयोजना हुन लागेको विष्णु महायज्ञको पूर्वसन्ध्यामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। इलाका प्रहरी कार्यालय मझगावाँको नेतृत्वमा तथा कोटहीमाई गाउँपालिका–४ को वडा कार्यालयको समन्वयमा उक्त सरसफाइ कार्यक्रम गरिएको हो।
महायज्ञ सञ्चालन हुने मन्दिर परिसर, यज्ञस्थल, वरपरका सडक तथा सार्वजनिक स्थानहरूमा सरसफाइ गरिएको प्रहरीले जनाएको छ। कार्यक्रममा प्रहरी कर्मचारी, वडा कार्यालयका प्रतिनिधि तथा स्थानीय बासिन्दाको समेत सहभागिता रहेको थियो।
भोली आइतबारदेखि सुरु हुने विष्णु महायज्ञलाई व्यवस्थित र स्वच्छ वातावरणमा सञ्चालन गर्ने उद्देश्यले सरसफाइ गरिएको वडा नं. ४ का वडाध्यक्ष बेचुराम पालले जानकारी दिनुभयो। मठ–मन्दिरको व्यवस्थापन तथा सरसफाइमा वडा कार्यालयले निरन्तर हातेमालो गर्दै आएको उल्लेख गर्दै उहाँले धार्मिक कार्यक्रमलाई सभ्य र व्यवस्थित बनाउन यस प्रकारका गतिविधि आवश्यक रहेको बताउनुभयो।
महायज्ञमा ठूलो संख्यामा भक्तजनहरूको सहभागिता हुने अपेक्षा गरिएकोले मन्दिर परिसरलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन स्थानीय निकाय तथा सुरक्षा निकाय सक्रिय रूपमा लागिपरेको जनाइएको छ।