मर्चवार । रुपन्देहीको मर्चवार र भैरहवामा पनि छठ पूजाको तयारी अन्तिम चरणमा गरिएको छ । कोटहीमाई गाउँपालिका वडा नं. ७ र सम्मरीमाई वडा नं. ७ को संगम स्थल मिडिया चौकमा मर्चवार लिफ्ट सिँचाईका् नहरमा ८ वर्षदेखि पूजा गरिदै आएको छठ पूजन समितिका संयोकज बाबुराम गुप्ताले बताउनुभयो । उहाँले छठ पूजाका लागि ५० प्रतिशत तयारी पूरा भइसकेको जानकारी दिनुभयो । छठ स्थलको सरसफाई, रंगरोगन कार्य भई टेन्ट साउण्ड ब्यवस्थापन भइरहेको लगायतका काम भइरहेको संयोजक गुप्ताले बताउनुभयो ।
मर्चवारमा मिडिया चौकसंगै मझगावाँ पोखरी, मर्यादपुर, बैरघाट, मर्चवारी मन्दिर स्थान, चण्डी थान, रायपुर, करौता, जिगिना, रोइनिहवा, लम्तीहवा घाट, दुईमोहान, आजमा घाट सहित विभिन्न ठाउँमा छठ्पुजाको तयारी भइरहेको छ ।
यसैगरी भैरहवाको श्री कालीभक्ति गण (ई) मा रहेको पोखरीमा पनि छठ्को तयारी अन्तिम चरणमा रहेको छ । छठ पोखरी व्यवस्थित गर्नका लागि वडा समितिको कार्यालय, नगरपालिका र नेपाली सेनाले सहयोगमा ब्यवस्थापन गरिएको छ । पोखरीको छेउमा करिब २ हजार १ सय बेदी राखिने र पूजास्थलमा करिब ३५–४० हजार जना श्रद्धालु भक्तजनको उपस्थिति हुने छठ् पुजा समितिका संयोजक आनन्द प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
विगतमा मधेशी समुदायले मनाउँदै आएको यो पर्व अहिले देशव्यापी रुपमा मनाउन थालिएको र यसलाई सरकारले राष्ट्रिय पर्वको रुपमा लिइ सार्वजनिक विदा दिएको छ ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा रहेको पोखरीमा पनि छठ पूजाको तयारी सुरु भइसकेको छ । मन्दिर समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले श्रद्धालु भक्तजनहरुको सुरक्षालाई मध्यनजर गर्दै पूजास्थलमा सिसिटीभी क्यामेरा जडान गर्नुका साथै स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो । मन्दिर परिसरमा ३ वटा पोखरी रहेको उहाँले बताउनुभयो ।