अन्जना चाैहान
लुम्बिनी । लुम्बिनी थारु आदिवासी युवा संघको आयोजनामा ६औँ लुम्बिनी माघी महोत्सव यही आउँदो माघ ३ गते शनिबार एक दिनका लागि भव्य रूपमा सञ्चालन हुने भएको छ। थारु समुदायको महान चाड माघी पर्व यस वर्ष थारु वर्ष २०४९औँ नयाँ वर्षको रूपमा मनाइने आयोजकले जनाएको छ।
बिहान ८ बजेदेखि सुरु हुने महोत्सवअन्तर्गत महिलवार गाउँदेखि लुम्बिनीको ५ नम्बर गेटसम्म थारु समुदायको मौलिक संस्कृति झल्काउने सांस्कृतिक झाँकीसहित नाचगान प्रस्तुत गरिने छ। झाँकी प्रदर्शनले थारु समुदायको परम्परा, भेषभूषा र सांस्कृतिक पहिचानलाई उजागर गर्ने अपेक्षा गरिएको छ।
महोत्सव स्थलमा थारु सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, जहाँ स्थानीय कलाकारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका थारु युवा कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुति दिनेछन्।
लुम्बिनी आदिवासी थारु युवा संघका अध्यक्ष सुनिल थार चौधरीका अनुसार महोत्सवको मुख्य उद्देश्य थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्नु हो। उहाँले महोत्सवमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण समुदाय, स्थानीयवासी तथा विभिन्न ठाउँबाट आउने सरोकारवालाहरूलाई उपस्थितिका लागि आग्रह गर्नुभएको छ।