कोटहीमाईमा सम्पन्न बन्ध्याकरण शिविरमा ३३ जनाले लिए सेवा

मर्चवार न्यूज 382+ समाचार ( )
२२ पौष २०८२, मङ्गलबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा सम्पन्न बन्ध्याकरण शिविरमा ३३ जनाले सेवा लिएका छन् । गाउँपालिकाको आयोजना तथा सुनौलो परिवार नेपाल (मेरी स्टोप्स) को प्राविधिक सहयोगमा र स्वास्थ्य कार्यालय रुपन्देहीको सहकार्यमा सम्पन्न बन्ध्याकरण शिविरबाट ७ जनाले स्थायी इम्प्लान्ट सेवा र २६ जनाले स्थायी बन्ध्याकरण मिनिल्याप सेवा लिएका कोटहीमाई गाउँपालिका स्वास्थ्य शाखाका सि.अ.हे.व. अंकित शर्माले जानकारी दिनुभएको छ ।

कोटहीमाई–५ स्थित मझगावाँ स्वास्थ्य चौकीमा सम्पन्न उक्त शिविरमा मर्चवार क्षेत्रबाट आएका महिलाका लागि मिनिल्याप तथा पुरुषका लागि भ्यासेक्टोमी सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरिएको थियो ।

कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले स्वस्थ, सक्षम र खुसी परिवार निर्माणका लागि परिवार नियोजनका साधनहरूमा सर्वसाधारणको पहुँच बढाउने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो । गाउँपालिकाको स्वास्थ्य शाखाले आगामी दिनहरूमा पनि यस्ता जनस्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यस प्रकारका शिविरहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै दीर्घकालीन रूपमा मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभयो ।


कार्यक्रमको मूल नारा “दुई सन्तान ईश्वरको बरदान, सानो परिवार खुसी परिवार” ले सानो परिवारको महत्त्व, आमा–बच्चाको स्वास्थ्य संरक्षण तथा आर्थिक–सामाजिक सुदृढीकरणमा परिवार नियोजनको भूमिका महत्त्वपूर्ण हुने कोटहीमाई गाउँपालिकाकी उपाध्यक्ष शुसिला कुमारी यादवको भनाइ रहेको थियो ।

अनुभवी स्वास्थ्यकर्मीहरूको टोलीबाट सुरक्षित, गुणस्तरीय तथा गोप्य सेवा प्रदान गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य अधिकृत प्रभास ज्ञवालीले बताउनुभयो । विशेष गरी सन्तान संख्या पूरा भइसकेका दम्पतीहरूले सेवा लिँदै जिम्मेवार अभिभावकत्वतर्फको सकारात्मक सन्देश दिएको उहाँले बताउनुभयो ।

शिविर कार्यक्रममा कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्र, कोटहीमाई गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष संजय कुमार सैनी लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार