मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रमा चिसोका कारण एकजनाको मृत्यु भएको छ । कोटहीमाई गाउँपालिका वडा नं. ५ मझगावाँका ५८ वर्षीय बङ्गुर (लम्बु) हरिजनको चिसो लागेर सोही वडास्थित दुईमोहान पुल नजिक मृत्यु भएको इलाका प्रहरी कार्यालय मझगावाँले जनाएको छ ।
मृतक हरिजन लुम्बिनीस्थित महिलवारबाट औषधि उपचार गराई घर फर्किने क्रममा अत्यधिक चिसो लागेपछि बाटोमै ढलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मझगावाँ, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक तपेन्द्र विष्टले मर्चवार न्यूजलाई जानकारी दिनुभएको छ ।
पुल नजिक सशस्त्र प्रहरी बलले अस्थायी रूपमा ड्युटी गर्ने स्थान नजिक साँझ करिब ४ः३० बजे उनी चिसोका कारण ढलेको अवस्थामा भेटिएका थिए । घर फर्किने क्रममा उक्त घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
उक्त समयमा ड्युटीमा रहेका सशस्त्र प्रहरी बलका एक जवानका अनुसार, “उनी पुलबाट घरतर्फ जाने क्रममा असामान्य अवस्थामा आफैँ ढलेपछि नजिकै रहेका दुई जना स्थानीय र हामी दौडेर पुग्यौँ । चिसोको अत्यधिक असरले ढलेको शंका लागेपछि हातखुट्टामा घर्षण गर्यौँ । उहाँले एक–दुई पटक सास फेर्नुभयो तर त्यसपछि सास चल्न सकेन।”
आज मंगलबार दुईमोहानमा लागेको बजारमा परिवारका लागि तरकारी ल्याएर घर फर्किने क्रममा उक्त घटना भएको मृतकका परिवारका एक सदस्यले बताउनुभयो ।