मर्चवारको अवस्था फेर्न मत फेर्न जरुरी : बनिया

मर्चवार न्यूज 382+ समाचार ( )
११ फाल्गुन २०८२, सोमबार

मर्चवार । रुपन्देही निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कन्हैया बनियाले मर्चवारको अवस्था परिवर्तन गर्न मत परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका बनियाले अहिलेसम्म सामन्तवादी र पुँजीवादी शक्तिहरू पटक–पटक निर्वाचित हुँदै मर्चवारलाई ओझेलमा पारिएको र पिछडिएको पहिचान दिइएकोप्रति दुःख व्यक्त गर्नुभयो।

उम्मेदवार बनियाले भन्नुभयो, “पटक–पटक भएका सडक आन्दोलनमा धेरै युवाहरू शहीद भए र केही परिवर्तन भए, तर अब वैचारिक आन्दोलनको आवश्यकता छ। सडकबाट होइन, मतबाट आन्दोलन गरी आफ्नो भोट परिवर्तन गर्दै समाज परिवर्तन गर्ने समय आएको छ।” उहाँले थप्नुभयो, “अबको प्रधानमन्त्री बालेन्द्र शाह हुने भएकाले मर्चवारले पनि घण्टीमा मतदान गरी समग्र मर्चवारवासीलाई जिताउनुपर्छ। अब बिचौलियाको सल्लाहमा होइन, आफ्ना छोराछोरी र परिवारको सल्लाहमा मतदान गर्ने बेला आएको छ।”

घरदैलो अभियानका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार बनियाले मर्चवारबाट जितेर बाहिर बस्नेहरूले मर्चवारको पीडा कहिल्यै नबुझेको तर्क गर्नुभयो। उहाँले भन्नुभयो, “क्षेत्र नं. ४ का नागरिकहरू अब सचेत भएका छन्। सत्य र गलतको पहिचान गर्न सक्षम छन् र अब कसैको भ्रममा पर्ने छैनन्।”

देशको नीति परिवर्तन गर्न नेतृत्व परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवार बनियाले सबैलाई घण्टीमा मतदान गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार