मर्चवार । धान भित्र्याउने र नयाँ बाली रोप्ने समयमा परेको बेमौसमी वर्षाले रुपन्देहीको मर्चवार क्षेत्रमा कृषि कार्य ठप्प भएको छ । दशैं–तिहार सकिएसँगै किसानहरू खेतबारीमा धान काट्ने, गोडमेल गर्ने र विभिन्न तरकारीका बीउ रोप्ने कार्यमा व्यस्त भइरहेका बेला तीन दिनदेखि परेको लगातार वर्षाले सम्पूर्ण कृषि गतिविधि ठप्प पारेको हो ।
धान भित्र्याउने अन्तिम चरणमा पुगेका किसानहरू अहिले गम्भीर समस्यामा परेका छन् । खेतमा भिजेका कारण कम्बाइन मेशिन चलाउन नसकिएको र हातैले धान काट्नुपर्ने बाध्यता आएको किसानहरूको गुनासो छ । यसले गर्दा मजदुर अभाव र लागत दुबै बढेको किसानहरूको भनाइ छ ।
“मेशिन चलाउने अवस्था छैन, खेत पुरै हिलो भएको छ । जबरजस्ती हातैले काट्दा खर्च दोब्बर भइरहेको छ । धान भित्र्याउन ढिलो भए टुसा उम्रिन्छ, कुहिन्छ भन्ने चिन्ता छ, सम्मरीमाइ–६ अवधपुरका किसान संग्राम केवटले बताउँदै आँखा रसाएका थिए ।
केवटका अनुसार, अहिले थुपारिएका धानहरूमा घाम नलाग्दा करिब २५ प्रतिशत धानमा टुसा उम्रिने र कुहिने अवस्था सिर्जना भएको छ । उनले थपे, “हामी मेहनतले खेती गर्छौं, तर यस्तो बेलामा वर्षा परेपछि सारा पसिना बगिहाल्छ । धान मात्र होइन, भविष्यकै आशा पनि टुट्छ ।
यसैगरी, नयाँ सिजनको तयारीस्वरूप रोपिएका तरकारीका बीउहरू पनि पानीमा डुबेर बिग्रिने खतरा देखिएको छ । किसानहरूले करिब २५ प्रतिशतसम्म क्षति हुने अनुमान गरेका छन् ।
स्थानीय किसान रामप्रसाद चौधरीले भने, “गहुँ रोप्ने तयारीमा थियौं, अब खेत नै सुक्दैन । माटोमा पानी जति रह्यो, बीउ राख्ने पनि ढिला हुन्छ । यस्तो अनियमित मौसमले हामी किसानलाई हरेक वर्षको मेहनत माथि खेलवाड गरेको जस्तो लाग्छ।”
कोटहीमाई गाउँपालिकाका सहायक कृषि विकास अधिकृत गिरिजा पाण्डेयका अनुसार, कम चिस्यान भएका खेतका लागि यो वर्षा केही हदसम्म फाइदाजनक भए पनि कटनीको अन्तिम चरणमा रहेका धानबालीमा आंशिक क्षति पुगेको पुष्टि भएको छ । उनले भने, “धान भित्र्याउने किसानलाई नोक्सान पुगेको हो, तर गहुँ र सागसब्जीका लागि माटोमा नमी थपिएकाले केही खेतमा फाइदा पनि भएको छ ।”
तर किसानहरूका लागि अहिले राहत भन्दा बढी चिन्ता छाएको छ । हरेक वर्ष बेमौसमी वर्षा, अनिश्चित मौसम र बजारको अस्थिरताले उनीहरूमा निराशा थपिरहेको छ ।
“हामी किसानका लागि खेती केवल पेशा होइन, हाम्रो जीवन हो । तर हरेक वर्ष आकाशको भरोसा गर्नुपर्ने बाध्यता बढ्दै गएको छ,” किसान मिथिला देवी केवटले व्यथित हुँदै भनिन् ।