महाशिवरात्री पर्वको महत्व

मर्चवार न्यूज 371+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

हरेक वर्ष फाल्गुण कृष्ण त्रयोदशीका दिनमा यो पर्व पर्ने गर्दछ । त्रिदेव मध्यका एक आराध्यदेव भगवान  शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइने गरिन्छ ।

चतुर्दशी तिथिका स्वामी शिव हुन् । अतः ज्योतिषशास्त्रमा यस तिथिलाई परम शुभफलदायी तिथि भनिएको छ। त्यसो त शिवरात्रि प्रत्येक महीनाको चतुर्दशीका दिन पर्दछ। तर फाल्गुन कृष्ण चतुर्दशीलाई सबै शिवरात्रिमध्ये विशेष भएकाले महाशिवरात्रि भनिएको हो। ज्योतिषीय गणना अनुसार सूर्यदेव पनि यस समयसम्म उत्तरायणमा आइसकेका हुन्छन् तथा ऋतु परिवर्तनको यो समय अत्यन्त शुभ मानिन्छ। शिवको अर्थ हो कल्याण। शिव सबैको कल्याण गर्ने देवता हुन्। अतः महाशिवरात्रिमा सरल उपाय गर्दा मात्र पनि इच्छित सुखको प्राप्ति हुन्छ ।

ज्योतिषीय गणितको अनुसार चतुर्दशी तिथिमा चंद्रमा आफ्नो क्षीणस्थ अवस्थामा पुग्दछ। त्यस कारण बलहीन चद्रमा सृष्टिलाई ऊर्जा प्रदान गर्न असमर्थ हुन्छन्। चंद्रमाको सीधा सम्बन्ध मनसँग हुन्छ।मनः कमजोर हुँदा भौतिक सन्तापले प्राणीलाई घेर्दछ तथा विषादको स्थिति उत्पन्न हुन्छ । जसबाट कष्टहरूको सामना गर्नु पर्दछ। चन्द्रमा शिवको मस्तकमा सुशोभित छन्। अतः चन्द्रदेवको कृपा प्राप्त गर्न भगवान शिवको आश्रय लिने गरिन्छ। महाशिवरात्रि शिवको प्रिय दिन हो। अतः प्रायः ज्योतिषीहरू शिवरात्रिका दिन शिवको आराधना गरेर कष्टहरूबाट मुक्ति पाउन सुझाव दिन्छन्। शिव आदि–अनादि हुन। सृष्टिको विनाश वा पुनःस्थापनाको बीचको मुख्य कडी हो प्रलय अर्थात कष्ट, पुनःस्थापना अर्थात् सुख। अतः ज्योतिषमा शिवलाई सुखको आधार मानेर महाशिवरात्रिमा अनेक किसिमका अनुष्ठान गर्ने महत्ता दर्शाइएको छ ।जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । शिवपूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भव मूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रिलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।

व्रतोत्सवमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी  “ ऊँ नमः शिवाय“ मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन र  शिव पार्वतीको विवाहको दिनका रुपमा शिवरात्रि पर्व फागुन कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा पनि भनिन्छ ।    भनिन्छ शिवरात्रि व्रत पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुन्छ  । शिवरात्रिमा ठूला साना सबै मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावका साथ पूजा गर्ने परम्परा रहेको छ । 

यस दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल–पत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण बस्दछन् । शिवलिंगमा बेल–पत्र चढाउनु, उपवास तथा रात्रि जागरण गर्नु जस्ता विशेष कर्मको सम्पादन यस पर्वमा हुने गर्दछ ।

यस दिन शिवको विवाह भएकोले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ । वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो । यहाँ रात्रि शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन गर्छ । परमात्मा नै ज्ञानको सागर हो जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा असत्यबाट सत्य तर्फ लैजान्छ । ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री–पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् । यस व्रतको विधानमा सवेरै स्नानादिबाट शुध्द भएर उपवास गर्ने गरिन्छ ।यस दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतूरोको फुल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ। यदि नजीकमा शिवालय छैन भने, शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने विधान छ।राती जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ।व्रतको भोलिपल्ट बिहान सवेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ।

यसदिनमा काठमाडौंको पशुपतिनाथमा  लाखौं भक्तजन तथा हजारौं साधुसन्तहरुको भिड लाग्ने गर्दछ। यसवर्ष भारतको प्रयागराजमा पौष शुक्ल पूर्णिमा बाट लागेको महाकुम्भ स्नान यसै दिन समापन समेत हुने छ ।

यस सम्बन्धी एक किंबदन्ती पनि छ । 

’एउटा गाँउमा एक शिकारी बस्तथ्यो। पशुहरूको हत्या गरेर ऊ आफ्ना कुटुम्बको पालनपोषण गथ्र्यो। ऊ एउटा साहूको ऋणी थियो, ऋण चुक्ता गर्ने प्रयास गर्दा पनि उसले त्यो ऋण चुकाउन सकेको थिएन। भाका नाघेपछि एक दिन क्रोधित साहूले शिकारीलाई शिवमठमा बन्दी बनायो । संयोगले त्यो दिन शिवरात्रि थियो।

शिकारी ध्यानमग्न भएर शिव सम्बन्धी धार्मिक कुराहरू सुनिरह्यो। चतुर्दशीमा उसले शिवरात्रि व्रतको कथा पनि सुन्यो। कथा श्रवणको प्रभावले साँझपख साहूमा दयाभाव उत्पन्न भयो र उसले शिकारीलाई आफू नजीकै बोलाएर ऋण चुकाउने विषयमा कुरा गर्यो, शिकारीले भोलि पल्ट सारा ऋण चुक्ता गर्ने वचन दिएर बन्धनबाट छट्यो। आफ्नो सधैंको दिनचर्या सरह ऊ शिकारका लागि जङ्गल तर्फ गयो। ऊ दिनभर बन्दी गृहमा रहेका कारण भोक प्यासबाट व्याकुल थियो। एउटा तलाउको किनारमा बेलको रुख थियो, शिकारी शिकार गर्ने सिलसिलामा त्यसै रूखमाथि चढ्यो। बेलको रुखमुनि शिवलिंग स्थापना गरिएको थियो, विल्वपत्रहरूबाट ढाकिएको हुनाले शिकारीले त्यस कुराको पत्तो पाएन ।

रुखमा चढ्ने क्रममा उसका खुट्टाले जुनजुन हाँगामा टेकियो, ती हाँगा भाँचिदै गए र संयोगले ती हाँगा रुखमुनि स्थापित शिवलिङ्गमा झरे। यसरी दिनभरि भोकै–प्यासै बस्नाले शिकारीको व्रत पनि पूर्ण भयो। एक पहर रात बिते पछि एउटी गर्भिणी मृग पोखरीमा पानी खान आइपुगी । शिकारीले धनुषमा बाण चढाएर प्रत्यञ्चा तान्नासाथ मृगीणीले भनी, ’म गर्भिणी छु। छिट्टै नै सुत्केरी हुनेछु। यतिबेला मेरो बध गर्दा तिमीले एकसाथ म र मेरा पेटमा भएका सबै जीवको हत्या गर्नेछौ, जुन उचित होइन। म बच्चा जन्मिउञ्जेल जीवनदानको याचना गर्दछु, सुत्केरी हुनासाथ म तिमीसमक्ष प्रस्तुत हुनेछु, त्यसबेला मेरो बध गर्नु!’ शिकारीले प्रत्यञ्चा खुकुलो बनायो र त्यस मृगिणीलाई मुक्त बनायो ।

केही बेरपछि एउटा अर्को पोथी मृग पुनः तालाउमा देखा पर्यो। शिकारीको प्रसन्नताको ठेगान भएन। नजीकै आएपछि उसले धनुषमा बाण चढायो। तब उसलाई बाण हान्न ठिक्क परेको देखेर मृगीणीले विनम्रतापूर्वक निवेदन गरी, ’हे शिकारी! म केही समय पहिले ऋतुबाट निवृत्त भएकी छु। यत्तिबेला कामातुर र विरहिणी हुँदै आफ्नो प्रियको खोजीमा भौंतारिदै छु। म आफ्नो पतिसँग भेट गरी समागम गरी कामनिवृत्त भएर चाँडै तिम्रा नजीक आउने छु।’ शिकारीले उसलाई पनि छाड्यो। दुईदुई पटक शिकारलाई गुमाएर उसको टाउको रन्कियो। उ चिंतामा डुब्यो। रातको अन्तिम पहर बित्यो। त्यसवेला एउटी अर्की मृगिणी आफ्ना बच्चाहरूसँगै त्यही ठाउँमा आइपुगी। शिकारीका लागि यो स्वर्णिम अवसर थियो। उसले धनुषमा बाण चढाउन ढिलो गरेन । उसले अस्त्र प्रयोग गर्नै आँटेको मात्र के थियो, त्यस मृगले पनि अनुरोध गरी, ’हे शिकारी!’ म यी बच्चाहरूलाई यिनका पिताको जिम्मा लगाएर फर्की आउने छु, त्यसैले अहिले मलाई नमार। शिकारी हाँस्यो र भन्न थाल्यो, आँफू अगाडि आएको शिकारलाई म कसरी छाडौं, म मूर्ख त हैन नि! यसभन्दा पहिले नै मैले दुईपल्ट आफ्नो शिकार गुमाइसकेको छु। मेरा बच्चाहरू भोक र प्यासले घरमा छटपटिंदै होलान् म चाँहि हातमा आएको शिकार त्याग्दै बस्दै गरेको छु। उत्तरमा मृगिणीले फेरि पनि अनुरोधात्मक स्वरमा भनी, तिमीलाई जसरी आफ्ना बालबच्चाको ममताले सताउँदै छ, ठीक त्यस्तै अवस्था हो मेरो पनि। त्यसैले केवल बालबच्चाका निमित्त केही बेरका लागि जीवनदानको याचना गर्दछु। हे मनुष्य! मेरो विश्वास गर, म यिनलाई यिनका पिताका जिम्मा लगाएर तुरुन्त फर्कने प्रतिज्ञा गर्दछु। मृगको दीन वचन सुनेर शिकारीलाई त्यसमाथि पनि दया पलायो। उसले त्यो शिकार पनि त्याग गर्यो ।

शिकारको अभावमा बेल वृक्षमा बसेको शिकारी दिक्क मान्दै बेलपत्र चुँड्दै फ्याल्दै गर्न थाल्यो। अब उज्यालोका किरण पूर्वीय क्षितिजमा देखिन थाले, त्यति बेला एउटा हृष्टपुष्ट मृग त्यसै पोखरीको किनारमा आइपुग्यो। शिकारीले यसको शिकार चाँहि अवश्य गर्नुपर्ने विचार गर्यो। शिकारीले हान्न ठिक बनाएको प्रत्यञ्चा देखेर मृगले विनीत स्वरमा अनुरोध गर्यो, हे शिकारी भाइ! यदि तिमीले मभन्दा पूर्व आएका तीनवटा पोथीमृग र ससाना बच्चालाई मारेका छौ भने मलाई पनि मार, यस पुनीत कार्यमा विलम्ब नगर, किनकि मलाई तिनीहरूको वियोगमा एक क्षण पनि बाँच्न रहर छैन। म ती मृगिणीहरूको पति हूँ। यदि तिमीले तिनलाई जीवनदान दिएका छौ भने मलाई पनि केही क्षणका निमित्त जीवन दिने कृपा गर। म तिनीहरूसँग भेट गरी तिम्रा सामु उपस्थित हुनेछु। मृगका कुरा सुनेपछि शिकारी सम्मुख पूरा रातको घटनाचक्र घूम्यो, उसले सारा कथा मृगलाई सुनायो। तब मृगले भन्यो, ’मेरी तीनवटै पत्नी जसरी प्रतिज्ञाबद्ध भएर गएका छन्, मेरो मृत्युले तिनीहरूले आफ्नो वचनको पालना गर्न पाउने छैनन्, किनकि मेरो अनुपस्थितिमा तिनीहरूको कार्य सम्पन्न हुनेछैन। अतः जसरी तिमीले उनलाई विश्वासपात्र मानेर छाडेका छौ, त्यसैगरी मलाई पनि जानदेऊ। म उनीहरू सबैलाई साथमा लिएर तिम्रा अगाडि शीघ्र नै उपस्थित हुन्छु।’ जानीनजानी उपवास, रात्रि–जागरण तथा शिवलिङ्गमा बेलपत्र चढाएका कारण शिकारीको हिंसक हृदय निर्मल भएको थियो। उनमा भगवद्शक्तिले निवास गरेको थियो। धनुष तथा बाण उनको हातबाट सहजै छूट्न पुग्यो। भगवान् शिवको अनुकम्पाले उसको हिंस्रक हृदय कारुणिक भाव विभोर भयो। त्यसले आफ्ना अतीतका कर्मलाई सम्झना गरी आँफू पश्चातापको ज्वालामा बल्न लाग्यो। केहीबेरपछि त्यो मृग सपरिवार शिकारीसमक्ष उपस्थित भयो। जंगली पशुहरूको यस्तो सत्यता, सात्विकता एवं सामूहिक प्रेमभावना देखेर शिकारीलाई ठूलो ग्लानि भयो। उसका आँखाबाट आंसुको वर्षा हुन थाल्यो। उसले मृग परिवारलाई नमारेर आफ्नो कठोर हृदयलाई जीव हिंसाबाट हटाई सदाका लागि कोमल एवं दयालु बन्यो। देवलोकबाट समस्त देव समाज पनि यस घटनालाई नियाल्दै थिए। घटना परिणतिमा पुग्नासाथ देवीदेवताले पुष्पवर्षा गरे। शिकारी तथा मृगपरिवारलाई मोक्ष प्राप्ति भयो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार