आजदेखि सुरु रुमिन्देई माई चैते पूर्णिमा मेला

मर्चवार न्यूज 367+ समाचार ( )
१८ चैत्र २०८२, बुधवार

दिनेश प्रसाद लोध

लुम्बिनी । लुम्बिनीमा आयोजना गरिएको रुमिन्देई माई चैते पूर्णिमा मेला आजदेखि सुरु भएको छ। लुम्बिनी–५ नम्बर गेटबाट कलश शोभायात्रा निकालेर मायादेवी मन्दिरको परिक्रमा गर्दै मुण्डन स्थलमा पुगेर मेलाको उद्घाटन गरिएको हो।

रुमिन्देई माई चैते पूर्णिमा मेला लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा चिनिन्छ। चैते पूर्णिमाको अवसरमा श्रद्धालुहरू मन्दिरमा पूजा–आराधना गर्न तथा मेला अवलोकन गर्न आउने परम्परा रहिआएको छ। यस मेलाले स्थानीय संस्कृति, परम्परा र सामाजिक एकताको सन्देश प्रवाह गर्ने गर्दछ।

यो मेला बुद्ध जन्मनुभन्दा अघिदेखि नै सञ्चालन हुँदै आएको विश्वास गरिएको छ। मेलामा कुनै किसिमको शुल्क लिइने छैन। साथै, जुवा तथा मदिराजन्य पदार्थको बिक्री–वितरण पूर्ण रूपमा निषेध गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिका कार्यवाहक मेयर एवं मेला संयोजक कल्पना हरिजनले जानकारी दिएकी छन्।

मेलामा बुद्ध विरहा नृत्य, कुस्ती दंगल, नाचगान, बौद्ध आध्यात्मिक नाटक, आकाशे झुलुङ्गे पिङ, सर्कस, जादुगर तथा विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछन्। कपिलवस्तु, रुपन्देही र नवलपरासीका साथै सीमावर्ती भारतका सिद्धार्थनगर, बस्ती, महाराजगञ्ज र बलरामपुर जिल्लाबाट पनि दर्शनार्थीहरू आउने अपेक्षा गरिएको मेला समितिका अनुगमनकर्ता हुसेनी लोधले बताएका छन्।

मेलामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिनेछ। साथै, सीसीटीभी निगरानी, प्रवेश नियन्त्रण, भीड व्यवस्थापनका लागि छुट्टै टोली तथा आपतकालीन स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ।

आयोजकले मेला सफल बनाउन सञ्चारमाध्यम, स्थानीयवासी तथा सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सबैलाई सहभागिताका लागि आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै