बुटवल। नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको अवसर पारेर रुपन्देही शाखाले फुटसल प्रतियोगिता आयोजना गरेको छ। बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा आयोजित दोस्रो एफएनजे मिडिया कप तथा कर्पोरेट कप फुटसल प्रतियोगिता २०८२ अन्तर्गत कर्पोरेटतर्फको फाइनलमा एनआईईएफ र नेपाल इन्जिनियर्स एशोसियसनबीच प्रतिस्पर्धा हुने भएको छ।
सोमबार सम्पन्न सेमिफाइनल खेलमा एनआईईएफले चार्टर्ड एकाउन्टेन्ट्स एशोसियसनलाई ८–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो। यस्तै, दोस्रो सेमिफाइनलमा नेपाल इन्जिनियर्स एशोसियसनले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीलाई ७–० ले हराउँदै उपाधि नजिक पुगेको हो।
प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले रेफ्रीलाई बल हस्तान्तरण गर्दै गरिन्। उनले खेलकुदले भातृत्व, सहकार्य र स्वस्थ जीवनशैली विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले खेलमार्फत विभिन्न संघसंस्थाबीच आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। विगतका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो।
प्रतियोगितामा कर्पोरेटतर्फ रुपन्देहीका करिब दुई दर्जन संघसंस्थाहरूको सहभागिता रहेको छ भने मिडिया कपतर्फ आधा दर्जन टिम प्रतिस्पर्धामा छन्। कर्पोरेट कपको विजेताले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २० हजार रुपैयाँ पाउनेछन्।
त्यस्तै, मिडिया कपको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। मिडिया कप अन्तर्गतका खेलहरू मंगलबार बिहानदेखि सुरु हुने महासंघका सचिव सीपी खनालले जानकारी दिए।