भैरहवा । रुपन्देही क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने मर्चवार क्षेत्रलाई समग्र विकासको नयाँ मोडमा लैजाने गरी सरकार र स्थानीय नेतृत्वबीच रणनीतिक छलफल अघि बढाइएको छ । प्रधानमन्त्री बालेन शाह र प्रतिनिधिसभा सदस्य कन्हैया बनियाबीच भएको भेटवार्ताले मर्चवारलाई पूर्वाधार, कृषि, पर्यटन र स्वास्थ्यका दृष्टिले ‘डिभेलपमेन्ट हब’का रूपमा रूपान्तरण गर्ने संकेत दिएको छ ।
छलफलमा विशेषगरी लामो समयदेखि थन्किएको स्रोत–साधनलाई उपयोगमा ल्याउने र अधुरा योजनालाई गतिशील बनाउने विषयमा जोड दिइएको थियो । मर्चवारका लागि खरिद भएर प्रयोगविहीन बनेको दमकल सञ्चालनमा ल्याउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तथा मर्चवारी माई मन्दिरलाई राष्ट्रिय सम्पदाको सूचीमा सूचीकृत गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी, सीमावर्ती क्षेत्र ककरहवा–कालिदह नाकालाई व्यापार र पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारिएको छ भने मर्चवार लिफ्ट सिँचाइ आयोजनालाई प्रविधिमैत्री बनाउँदै कृषि उत्पादन बढाउने रणनीति तय गरिएको छ । सडक पूर्वाधारतर्फ मर्चवार–लुम्बिनी सडक विस्तार र चार लेन रिङ रोड निर्माणले क्षेत्रीय कनेक्टिभिटी मजबुत बनाउने अपेक्षा गरिएको छ ।
आर्थिक रूपान्तरणका लागि मर्चवारमा लघु उद्यम विकास परिसर स्थापना, छपियालाई ‘फिस फार्मिङ हब’का रूपमा विकास तथा एकीकृत कृषि प्रणाली लागू गर्ने अवधारणा पनि अघि सारिएको छ । स्वास्थ्य क्षेत्रतर्फ सर्पदंश उपचार सेवा सहित २५ शय्याको आधुनिक अस्पताल निर्माण गर्ने प्रस्तावले स्थानीय सेवा विस्तारमा टेवा पुग्ने देखिन्छ ।
युवा लक्षित कार्यक्रमअन्तर्गत क्रिकेट एकेडेमीसहित आधुनिक रंगशाला निर्माणको योजना पनि समावेश गरिएको छ, जसले खेलकुदमार्फत युवालाई अवसर सिर्जना गर्ने विश्वास गरिएको छ ।
समग्रमा, यो छलफल केवल योजनाको सूची मात्र नभई मर्चवारलाई दीर्घकालीन विकासको मार्गचित्रमा राख्ने प्रयासका रूपमा हेरिएको छ । सांसद कन्हैया बनियाले आगामी दिनमा सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गर्दै यी योजनालाई कार्यान्वयनमा लैजान निरन्तर पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।