लुम्बिनी, १६ चैत । रुमिन्देई माई चैते पूर्णिमा मेला–२०८२ को तयारीबारे जानकारी दिन आयोजक समितिले पत्रकार सम्मेलन सम्पन्न गरेको छ। सम्मेलनमा मेलाको उद्देश्य, कार्यक्रम तालिका, सहभागिता तथा सुरक्षा व्यवस्थाबारे जानकारी गराइएको हो।
लुम्बिनी क्षेत्रको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित यस मेलामा हरेक वर्ष चैते पूर्णिमाको अवसरमा श्रद्धालुहरू पूजा–आराधना तथा अवलोकनका लागि सहभागी हुने परम्परा रहिआएको छ। मेलाले स्थानीय संस्कृति, परम्परा र सामाजिक एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।
नगर प्रवक्ता नइमुल्लाह फकिरका अनुसार बुद्ध जन्मनुभन्दा अघिदेखि सञ्चालन हुँदै आएको यो ऐतिहासिक मेलालाई थप व्यवस्थित बनाउन लुम्बिनी सांस्कृतिक नगरपालिकाले बजेट विनियोजन गरी विभिन्न सांस्कृतिक कार्यक्रमहरू समावेश गरेको छ।
चैत १८ देखि २२ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन गेट नम्बर ५ बाट बिहान ११ बजे बहुसांस्कृतिक कलश शोभायात्रासहित गरिनेछ।
मेलामा बुद्ध विरहा नृत्य, कुस्ती दंगल, नाचगान, बौद्ध आध्यात्मिक नाटक, आकासे झुलुङ्गे पिङ, सर्कस, जादुगर लगायतका विविध सांस्कृतिक प्रस्तुतिहरू रहने मेला समितिका संयोजक विनोद श्रीवास्तवले जानकारी दिए।
कपिलवस्तु, रुपन्देही र नवलपरासीसहित भारतका सीमावर्ती जिल्लाहरू सिद्धार्थनगर, बस्ती, महाराजगञ्ज र बलरामपुरबाट समेत दर्शक सहभागी हुने अपेक्षा गरिएको मेला समितिले जनाएको छ।
सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिनेछ। साथै, सीसीटीभी निगरानी, प्रवेश–नियन्त्रण, भीड व्यवस्थापन टोली तथा आपतकालीन स्वास्थ्य सेवा र एम्बुलेन्सको व्यवस्था गरिएको संयोजक सदस्य अहमद खानले बताए।
आयोजकले मेला सफल बनाउन सञ्चारमाध्यम, स्थानीयवासी तथा सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सबैलाई सहभागिताका लागि आग्रह गरेका छन्।