निर्वाचन आचारसंहिता पालनाबारे उम्मेदवारहरूलाई निर्देशन

मर्चवार न्यूज 382+ समाचार ( )
२३ माघ २०८२, बिहीबार

मर्चवार । रुपन्देही निर्वाचन क्षेत्र नं. ४ मा सर्वदलीय बैठक सम्पन्न भएको छ। बुधबार निर्वाचन कार्यालयमा रुपन्देही जिल्ला मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतको प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हो।

बैठकमा यस क्षेत्रका विभिन्न राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि, सञ्चारकर्मी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकबाट निर्वाचन आचारसंहिता उल्लंघन नगर्न सबैलाई आग्रह गरिएको छ।

बैठकमा बोल्दै मुख्य निर्वाचन अधिकृत बस्नेतले निर्वाचन आचारसंहिता राजनीतिक दलहरूले नै बनाएको हुँदा त्यसको पालना गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “आचारसंहिता राजनीतिक दलहरूका लागि राजनीतिक दलहरूले नै बनाएको हो। कर्मचारी, संघ–संस्था तथा सञ्चार माध्यमहरूका लागि पनि आचारसंहिता लागू हुन्छ। आचारसंहिता लागू नभए दण्ड–सजायसहित उम्मेदवारी बदरसमेत हुन सक्छ।”


उहाँले उम्मेदवारी दर्ता गराउने क्रममा सबै उम्मेदवारले आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिसकेको जानकारी दिनुभयो। पटक–पटक वा गम्भीर रूपमा आचारसंहिता उल्लंघन भएमा उम्मेदवारी रद्द हुन सक्ने उहाँले बताउनुभयो। निर्वाचन क्षेत्र नं. ४ मा आचारसंहिता उल्लंघनसम्बन्धी अत्यधिक गुनासो आएको उल्लेख गर्दै समयमै सुधार गर्न उहाँले आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक माधवप्रसाद पोखरेलले शान्ति सुरक्षाका लागि सुरक्षा निकाय पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताउनुभयो। मतदानस्थलसम्म पुगेर शान्तिपूर्ण र सुरक्षित रूपमा मतदान गर्ने वातावरण तयार गरिएको जानकारी गराउँदै उहाँले राजनीतिक दल, उम्मेदवार तथा प्रतिनिधिहरूलाई शान्ति सुरक्षामा सहकार्य गर्न आग्रह गर्नुभयो। निर्वाचन आचारसंहिता पालना गरी कुनै पनि कार्यक्रम वा सभा गर्दा स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराएर मात्र कार्यक्रम गर्न उहाँले अनुरोध गर्नुभयो।

निर्वाचन क्षेत्र नं. ४ का निर्वाचन अधिकृत टोपबहादुर विष्टको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रमोदकुमार यादव, नेपाल जनता पार्टीका उम्मेदवार जंगबहादुर यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि विक्रम लोध, जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि रामगणेश पाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार