निर्वाचनमा जुटयो शान्ती सुरक्षा समिति, मतदान स्थलको अनुगमन सुरु

मर्चवार न्यूज 382+ समाचार ( )
२० मंगशिर २०८२, शुक्रबार

मर्चवार । अगामी फागनु २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै शान्ति सुरक्षा समिति रुपन्देहीले मर्चवार क्षेत्रका विभिन्न मतदान केन्द्र तथा मतदान स्थलहरूको विस्तृत सुरक्षा अनुगमन गरेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै बिहिबार मतदान स्थलको भौतिक संरचना, सुरक्षा जोखिम, पहुँचयोग्यता तथा समग्र शान्ति–सुरक्षा अवस्थाको मूल्याङ्कन गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका अचार्यले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी अचार्यका अनुसार प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलको संयोजकत्वमा गठित शान्ति–सुरक्षा समितिले मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिकाभित्रका करिब १३ वटा मतदान स्थलमा सुरक्षा अनुगमन सम्पन्न गरेको हो । अनुगमन टोलीमा नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग सम्बन्धित गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा वडाध्यक्ष सहित विद्यालयको प्रधानाध्यापकको संयुक्त उपस्थितिमा स्थानीय समाजको सुरक्षा अवस्था, आवश्यक सुरक्षा व्यवस्थापन, सम्भावित जोखिम मूल्याङ्कन तथा आवश्यक कार्ययोजना पहिल्याउने काम गरिएको थियो ।


मतदान स्थलमा आवश्यक सुधार तथा सुरक्षा सुदृढीकरणका लागि जिल्ला निर्वाचन कार्यालय, स्थानीय तह, सम्बन्धित विद्यालय र अन्य सरोकारवाला निकायसँग समन्वय गरेर काम अघि बढाइने जानकारी उहाँले दिनुभयो। सुरक्षित, निश्पक्ष, भयमुक्त र अवरोधरहित निर्वाचन सुनिश्चित गर्न समन्वय, सहकार्य र स्थितिको निरन्तर अनुगमन शान्ति–सुरक्षा समितिको प्राथमिकतामा रहेको बताइएको छ ।

जिल्लाभित्रका सबै १६ वटै स्थानीय तहका प्रत्येक मतदान स्थलको शान्ति–सुरक्षा अनुगमन क्रम जारी रहेको समेत अचार्यले बताउनुभयो । यसअघि रुपन्देहीको तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकास्थित विभिन्न मतदान स्थलहरूको पनि सुरक्षा मूल्याङ्कन भइसकेको उहाँको भनाइ छ ।

अनुगमन कार्यलाई निरन्तरता दिँदै जिल्लाका महत्वपूर्ण तथा संवेदनशील मतदान स्थलहरूको सुरक्षा जोखिम पहिचान गरी आवश्यक सुरक्षा संयन्त्र थप सुदृढ गरिने समेत जानकारी दिइएको छ ।

अनुगमनमा उस्थित मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरई, प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठी, सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तव, प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहले निर्वाचनमा शान्ती सुरक्षाका लागि आश्यक समन्वय सहकार्यको प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

मर्चवारी गाउँपालिकामा श्रीमती मनराजीदेवी माध्यमिक विद्यालय, कचरिहवा आधारभूत विद्यालय, रायपुर प्राथमिक स्वास्थ्य केन्द्र, बगौली माध्यमिक विद्यालय, मदरसा बरकतिया नीजामुल ओलुम, ठर्की माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय, हरिनामपुर माध्यमिक विद्यालयलगायतका मतदान स्थलहरूको अनुगमन गरिएको थियो। त्यस्तै, सम्मरीमाई गाउँपालिकामा जनता माध्यमिक विद्यालय बिजगौरी, रोइनिहवा माध्यमिक विद्यालय, थुम्हवा माध्यमिक विद्यालय, मुडिला माध्यमिक विद्यालय तथा पिपरी बैरवासी विद्यालयमा रहेका मतदान स्थलहरूको पनि सुरक्षा अनुगमन सम्पन्न भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार