मर्चवार । मर्चवारी–१, खुरखुरियाका अकबर अलि भनिने अहमद अली दर्जीलाई जिल्ला अदालतले जिवित रहेसम्म कैद हुने फैसला सुनाएको छ । नाबालिकालाई जबरजस्तीकरणी पश्चात् हत्या गरेको अभियोगमा उनलाई रुपन्देही जिल्ला अदालतले जिवित रहुन्जेल कैद हुने फैसला गरेको हो ।
८ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोग पुष्टि भएपछि असार २९ गते जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलाशले दर्जीलाई आजीवन कैद हुने फैसला सुनाएको सूचना अधिकारी पदम अर्यालले बताए । उनका अनुसार प्रतिवादी अकबर अलि भनिने दर्जीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र (२) को कसुरमा यसैको दफा २१९ (३ क) बमोजिम जन्मकैद र दफा २१९ (३ क) को खण्ड (क) बमोजिम ७ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको छ ।
त्यसैगरि दफा १७७ (१) को कसुरमा दफा १७७ (२) बमोजिम अन्य कैदको सजाय हुने तथा प्रतिवादीले ८ वर्ष ३ महिनाकी बालिकालाई जबरजस्तीकरणी गरी हत्या गरेकाले मुलुकी अपराध संहिता २०७४ को दफा ४१ (च) को कसुरमा दफा ४१ बमोजिम दर्जीलाई जिवित रहेसम्म कैद हुने फैसला सुनाइएको हो ।
अदालतबाट भएको फैसलामा पीडित परिवारलाई अपराध पीडित संरक्षण कोषबाट ७ लाख रुपैयाँ, प्रतिवादीबाट थप एक लाख ५० हजार क्षतिपूर्ति भराउन समेत भनिएको छ । सूचना अधिकारी अर्यालका अनुसार २०८० पुस १३ गते दर्जीले बालिकालाई जबरजस्तीकरणी हत्या गरेर स्थानीय नालीमा फालेको अवस्थामा शव फेला परेको थियो ।
घटनाक्रम अनुसार विद्यालयबाट फर्किरहेकी बालिकालाई दर्जीले बाटोमा एक्लै भेटेपछि बालिकाका बुवाले खेतमा पानी लगाउँदै गरेकाले त्यही पुर्याइदिन्छु भनेर फकाएको जनाइएको छ । फकाई फुल्याई गरेपछि दर्जीले बालिकालाई बुवा भएको ठाउँमा नलगेर एकान्त स्थलमा पुर्याएर मदिरा सेवन गरी बलात्कार गरी हत्या गरेको फैसलामा उल्लेख छ ।
मुद्दाको विवरण अनुसार दर्जीले बालिकालाई साइकलमा चढाएर लगेको स्थानीयले देखेका थिए । बालिका लगेको देख्ने व्यक्तिले केराकार गरेपछि पनि दर्जीले केही खुलाएका थिएनन् । घटना जानकारी भएर प्रहरी पुगेपछि भने दर्जीले नै बालिकाको हत्या गरेर फालेको ठाउँ देखाएको प्रहरी अनुसन्धानमा उल्लेख छ ।