मर्चवार । मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको ३१औँ वार्षिक साधारण सभा आज विहीबार कोटहीमाई–५ स्थित संस्थाको प्राङ्गणमा एक विशेष समारोहका बीच सम्पन्न भएको छ । सभामा संस्थाले आर्थिक वर्ष २०८१÷०८२ को आय–व्यय विवरणसहित सम्पन्न विभिन्न गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरू सार्वजनिक गरेको हो ।
संस्थाका व्यवस्थापक विश्वनाथ आर्यका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाले ४४ लाख ५५ हजार १ सय ९५ रुपैयाँ आम्दानी गरेको छ भने सो अवधिमा ४१ लाख ५२ हजार २ सय ६८ रुपैयाँ खर्च भएको छ । उनले थप जानकारी दिँदै आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि १ करोड ७८ लाख ६५ हजार रुपैयाँ आम्दानीको लक्ष्य राखी सो बराबरको कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा रुपन्देही क्षेत्र नं. ४ का पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवले किसानहरू देशको मेरुदण्ड भएको उल्लेख गर्दै भने, “किसानले आन्दोलन गरे सबैलाई भोको पेट मर्नुपर्ने अवस्था आउँछ।” उनले किसानहरूको योगदान र परिश्रमको चर्चा गर्दै राज्यका कुनै पनि सरकार—एमाले, कांग्रेस, माओवादी वा गठबन्धन—ले समेत किसानका समस्या बुझ्न नसकेको तर्क गरे ।
उनका अनुसार नेपालमा मल, बीउ तथा कृषि उपकरणको समयमै व्यवस्थापन हुन नसक्नु किसानका लागि ठूलो पीडा हो । “खुला सीमा भएकै कारण भारतबाट किसानले मल र बीउ ल्याउन खोज्दा दुबै देशका सुरक्षाकर्मीको गाली खानुपर्ने बाध्यता रहेको छ,” यादवले भने । उनले किसानका काममा प्रहरी र सरोकारवालाबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।
यादवले मर्चवार क्षेत्रको प्रमुख समस्या नहर व्यवस्थापन र मल–बीउको अभाव भएको उल्लेख गर्दै स्थानीय बासिन्दाले आगामी निर्वाचनमा मर्चवारको भविष्यका विषयमा सोचविचारपूर्वक मतदान गर्न आग्रह गरे । उनले खेतमा सिँचाईका लागि आवश्यक स्थानमा नहर मर्मत सम्भारका लागि निःशुल्क जेसीभी उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नं. ४ ‘क’ का पूर्व प्रदेशसभा सदस्य अष्टभुजा पाठकले नयाँ कार्यसमितिमा युवाको सहभागिता र सक्रियता देखिएको भन्दै अब मर्चवार लिफ्ट सिँचाई आयोजनाले विकासको गति लिने विश्वास व्यक्त गरे । उनले सिँचाई क्षेत्रअनुसार पानी शुल्क उठाउन समितिले ध्यान दिनुपर्ने सुझाव दिँदै भने, “कर्मचारीलाई पूर्ण तलब दिइँदै आएको छ, तर पानी शुल्क उठाउन नसक्नु चिन्ताको विषय हो, यसतर्फ अहिले नै सोच्न आवश्यक छ, नत्र आयोजनाको भविष्य उज्यालो हुने छैन ।”
कार्यक्रममा जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख भेषराज भुसाल, कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादव, सम्मरीमाई–१ का वडाध्यक्ष शिवकुमार यादव, कोटहीमाई–७ का वडाध्यक्ष पवन कुमार यादव लगायतका किसान प्रतिनिधिहरूले पनि मन्तव्य राखेका थिए ।
सभामा मर्चवार–१ का पूर्व वडाध्यक्ष तथा नेपाली कांग्रेसका क्षेत्रीय अध्यक्ष मुकेश यादव, कोटहीमाई–३ का पूर्व वडाध्यक्ष चन्द्रभान यादव, कोटहीमाई–५ का पूर्व वडाध्यक्ष हनुमान यादव, सम्मरीमाई–७ का पूर्व वडाध्यक्ष शिवनरायण यादव लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष राजेन्द्र यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव जगन्नाथ प्रसाद कुर्मीले गरेका थिए ।