स्वास्थ्य सेवाकाे लागि शिविरकै भर

हृदयराम गुप्ता 121+ समाचार ( )
अस्पतालकाे अभावले राेग पहिचानमा समस्या
२५ मंगशिर २०८२, बुधवार

मर्चवार । कागजमा सुगम जिल्ला भनिए पनि वास्तविकतामा रुपन्देहीको मर्चवार क्षेत्र आज पनि स्वास्थ्य, शिक्षा र आधारभूत सेवाका हिसाबले एक प्रकारले दुर्गमभन्दा समेत पीडादायी अवस्थामा बाँचेको छ । मर्चवारका बासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवा, विद्यालयका स्रोत, औषधी तथा दैनिक उपभोग्य सामग्रीका लागि अझै पनि सदरमुकाम भैरहवा धाउनै पर्ने कठोर बाध्यता बोकिरहेका छन् ।

दुरीका हिसाबले भैरहवा सवारीसाधनबाट २० मिनेटको बाटो हो तर जीर्ण, भत्किएको, खाल्डाखुल्डीले भरिएको सडकले गर्दा त्यही बाटो पार गर्न एक घण्टाभन्दा धेरै समय खर्चिनुपर्छ।

सडकले बनाएको यो कृत्रिम दूरी र आर्थिक कमजोरले भैरहवा पुग्न नसक्ने मर्चवारका धेरैजसो ज्येष्ठ नागरिकका आँखासम्बन्धी समस्या झनै जटिल र जोखिमपूर्ण बन्दै गएको छ ।

शनिबार रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले सञ्चालन गरेको आँखा जाँच शिविरमा आएकामध्ये ९० प्रतिशतभन्दा बढी बिरामीमा मोतियाबिन्दु देखिनु मर्चवारको वास्तविक पीडा झनै चर्को भएर बाहिरिएको उदाहरण हो। ६ सयभन्दा धेरैले आँखा परीक्षण गराएका शिविरमा अधिकांशमा मोतियाबिन्दु र केहीमा टेरिजियम (मासु पलाउने) समस्या पाइएको छ ।

सदरमुकाम भैरहवामै लुम्बिनी रण अम्बिका आँखा अस्पताल, लुम्बिनी नेत्रालयलगायत आधा दर्जनभन्दा बढी अत्याधुनिक आँखा अस्पताल रहे पनि, ती सबैको छेउमै बसेको मर्चवारमा यत्रो समस्या हुँदा पनि सरोकारवालाको ध्यान कहिल्यै पुग्न नसक्नु मर्चवारको दीर्घकालीन पीडा हो ।

डा. दिपेन्द्र यादवका अनुसार, मोतियाबिन्दु शल्यक्रियाको खर्च १०–१५ हजार रुपैयाँ पर्नु गाउँलेका लागि ठूलो रकम भएकाले उनीहरू निःशुल्क शिविरको प्रतीक्षामै वर्षौं बिताउन बाध्य छन् । त्यसमा पनि दुर्गमजस्तो सडक अवस्था र यातायातको अव्यवस्थित सुविधाले गाउँका धेरै मानिस मुख्य स्वास्थ्य केन्द्रसम्म पुग्नै नसक्ने दयनीय स्थिति छ ।

मर्चवार क्षेत्रमा एउटासमेत अस्पताल नहुँदा, आँखा समस्यादेखि लिएर अन्य स्वास्थ्य जटिलतासम्मका पीडाहरू मनमनै लुकाई बस्नुपर्ने विवशता आजसम्म हट्न सकेको छैन ।

डा. यादवका अनुसार मोतियाबिन्दु ५०–६० वर्ष उमेर समूहमा बढी देखिने, र ५५ वर्षभन्दा माथिका बिरामीलाई शल्यक्रिया अनिवार्य हुने अवस्थासमेत मर्चवारमा टार्न नसकिएको छ । महिलामा यो समस्या अझ बढी देखिएको छ। उचित स्क्रिनिङ नहुनु नै मर्चवारमा मोतियाबिन्दुको भयावहता बढ्नुको मुख्य कारण हो ।

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष विष्णु शर्माका अनुसार क्लबले १०औँ स्थापना दिवस पारेर मर्चवारमा आँखा शिविर सञ्चालन गरेको हो। अध्यक्ष भएपछि नै आफूले २५० जनाको मोतियाबिन्दु शल्यक्रिया गर्ने लक्ष्य लिएको बताउँदै उहाँले अहिलेको शिविर हेर्दा एकै क्षेत्रबाट २५० भन्दा बढी मानिस मोतियाबिन्दुको पीडाले गाँसिएको देखिएको बताए ।

“शिविरमा धेरै व्यक्तिको उपचार गर्नु भनेको उनीहरूलाई नयाँ जीवन दिनु हो,” अध्यक्ष शर्माले भने। आर्थिक रूपमा कमजोर र पीडामा रहेका नागरिकका लागि निःशुल्क सेवा एकमात्र आशा बनेको उनको भनाइ छ ।

यसैबीच सम्मरीमाई–५ पाण्डेडिहमा लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भइरहेको आँखा सेवा केन्द्रको भौतिक संरचना अझै सेवा सञ्चालनमा आउन सकेको छैन ।

सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीका अनुसार श्री रण अम्बिका साह आँख अस्पताल भैरहवा र गाउँपालिकाको साझेदारीमा शल्यक्रियासहितको गुणस्तरीय सेवा चाँडै सुरु हुने तयारी भइरहेको छ ।

त्यसअघि नै पालिकामा आर्थिक वर्ष २०८१÷८२ मा ६ पटक, र २०८२÷८३ मा ३ पटक आँखा शिविर सञ्चालन भइसकेको छ । मोतियाबिन्दु देखिएसँगै शिविरबाटै शल्यक्रियासमेत उपलब्ध गराइएको उनले बताए ।

मर्चवारी गाउँपालिकामा पनि २०८१÷८२ मा ३ वटा आँखा शिविरबाट सेवा प्रदान गरिएको र २०८२÷८३ मा थप २ वटा शिविर सञ्चालन भएको स्वास्थ्य शाखा प्रमुख फेकन साहले जानकारी दिए। मर्चवार–२ अमवास्थित आँखा स्वास्थ्य केन्द्रबाट आधारभूत सेवा उपलब्ध गराइँदै आएको पनि उनले बताए ।

कोटहीमाई गाउँपालिकामा समेत स्वास्थ्य शिविरकै भरमा आँखा परीक्षण हुने गरेको स्वास्थ्य शाखा प्रमुख अंकित शर्माले बताए ।

“हरेक आर्थिक वर्षमा हरेक वडामा आँखा जाँच शिविर चलाउनुपर्ने बाध्यता छ। अस्पतालको अभाव र भैरहवा जानुपर्ने कठिनाइले गाउँका धेरैजसो नागरिक शिविरमै स्वास्थ्यको आशा टेकेर बस्नुपरेको छ,” शर्माले भने ।

समाजसेवी रामगणेश पालका अनुसार, “पहिले अज्ञानता र टाढापनका कारण उपचारबाट वञ्चित भएकाहरूका लागि यस्ता शिविरहरू वरदानसरह बनेका छन् । नत्र यहाँका नागरिकको अवस्था झनै भयावह हुन्थ्यो ।”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार