मर्चवार । मर्चवारी गाउँपालिका वडा नं. ७ का किसान गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन् । मल वितरण गर्ने सहकारीले मल वितरणमा असमानता गरेको भन्दै गाउँपालिका अध्यक्ष गया प्रसाद बरई र वडाध्यक्ष गनेश चौधरीलाई किसानहरुले सामुहिक रुपले आइतबार ज्ञापन पत्र बुझाएका हुन् ।
मर्चवारी गाउँपालिका वडा नं. ६ र ७ मा मल वितरण पाएको श्री जनसेवा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीले आफ्ना करिबी किसानलाई मात्र मल वितरण गरेको सतचण्डी कृषक समुहका अध्यक्ष विद्या सरन पालले बताए । गाउँपलिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउदै दुबै वडाको लागि आएको मललाई संस्थाले एउटै वडामा पर्नेगरी समिति ब्यक्तीहरुलाई मात्र मल वितरण गरेको उनले आरोप लगाए ।
ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ‘उपारोक्त सम्बन्धमा मर्चवारी गाउँपालिका वडा नं. ७ मा रहेको श्री जनसेवा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाले मर्चवारी गाउँपालिका वडा नं. ७ मा एउटा मात्र सहकारी संस्था वडा नं. ७ मा कृषकलाई अनुदान वापतको रसायनिक मल समूहका सदस्य, शेयरधनी, नातावाद, जातीवाद गरी राती बारह बजे समेत वितरण गरी बाँडीरहेको अवस्था छ । शेयर सदस्य, स्वावलम्बनका समूहलाई मात्र वितरण गर्दा वडा नंं ७ का अरु किसान होइनन ? किसान हुन भने ७ नंं. वडाका अरु किसान कहाँबाट प्राप्त गर्ने त्यो कसरी कहाँबाट हुन्छ । तपाईहरु ब्यवस्था मिलाइदिनुहुन बिनम्र अनुरोध गर्दछौँ । साथै सो सहकारी संस्थाले नियमविपरित वितरण गरेको कार्यलाई अनुसन्धान कारवाहीको समेत माग गर्दछौँ । ’
किसानहरुको मागलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले आब आउने दिनमा वडा कार्यालय मार्फत मल वितरण गर्ने ब्यवस्था मिलाउने बताए । वडा नंं ७ र ६ को लागि आउने मल वडाध्यक्षको नेतृत्वमा वडा भित्रका किसानहरुलाई सामान रुपले मल उपलब्ध गराउने अध्यक्ष बरईले किसानहरुलाई आशवासन दिएका छन् ।