मर्चवार, ९ मंसिर । ईलाका प्रशासन कार्यालय मझगावाँमा कार्यालय प्रमुख नहुँदा उक्त कार्यालयबाट प्रवाह हुने विभिन्न सेवाहरु ठप्प भएको छ । उक्त कार्यालयको कार्यालय प्रमुख शाखा अधिकृत शोभा पाण्डेय सरुवा भइ गएपछि विगत २ महिनादेखि यहाँबाट प्रदान गरिने सेवाहरु प्रभावित भएको हो ।
२०८१ असोज १० गते यो कार्यालयबाट पाण्डे कम्पनी रजिष्ट्रारको कार्यालय बुटवलमा सरुवा भएको र अहिलेसम्म नयाँ कार्यालय प्रमुख नआएपछि ईलाका प्रशासन कार्यालय मझगावा कार्यालय प्रमुखबिहीन भएको हो ।
मर्चवारको कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकाबासीहरुले नागरिकतासहित अन्य विभिन्न सेवाको लागि सास्ती खेपिरहेका छन् । कार्यालयबाट प्रदान गरिने विभिन्न सेवा बन्द भएपछि यहाँ कार्यरत कम्प्युटर अपरेटर विजय कुमार यादव समेत जिल्ला प्रशासन कार्यालयमा पुगेर सेवा दिइरहेका छन् ।
ईलाका प्रशासन कार्यालय मझगावाँमा हाल १ जना नायब सुब्बा, १ जना कम्प्युटर अपरेटर, राष्ट्रिय परिचयपत्र बनाउने कर्मचारी २ जना र २ जना कार्यालय सहयोगी छन् । कार्यालयमा कार्यरत एक कर्मचारीले भने, ‘बिहान आएर हाजिर गरेर दिन बिताइरहेका छौं । न यहाँ कार्यालय प्रमुख हुनुहुन्छ न त कुनै सेवा प्रदान गरिएको छ । कतैबाट कुनै अभिलेखको जानकारीको पत्र आए मात्र सो विवरण पठाउने र राष्ट्रिय परिचयपत्रको सेवा दिइएको छ । तर, अन्य कुनै पनि सेवा दिइएको छैन ।’
छोराको नागरिकता बनाउन आएका कोटहीमाई १ का पर्शुराम यादवले सेवा नपाई घर फर्केको गुनासो गरे । उनले भने ‘भारतको मुम्बई शहरमा छोराले काम गर्दछ खेतीपति गर्न घर फर्केको छोराको नागरिकता बनाउ भनी ईलाका प्रशासन कार्यालय मझगावाँ जाँदा त्यहाँ कार्यालय प्रमुख नभएकोले नागरिकता बनाउन भैरहवा जानुपर्ने सुनेपछि मन खल्लो भयो ।’ उक्त कार्यालयमा नागरिकता बनाउने अधिकृत आउने निश्चिन नरहेको सुनेपछि भैरहवा जाने बाध्यता भएको दुःख ब्यक्त गरे ।
उक्त कार्यालयबाट प्रवाह हुने विभिन्न सेवा लिनको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देही, भैरहवा धाउनुपर्ने बाध्यता रहेको मर्चवारी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष रामसेवक खरबिन्दले बताए । उनले भने, ‘नागरिकता बनाउन, मधेशी प्रमाणित लगायत विभिन्न सेवाको लागि मर्चवारबासीहरु यतिबेला भैरहवा जानुपर्ने बाध्यता छ । अभिलेखमा जसको कुनै त्रुटी भएको छ भने त्यो कार्य पनि भएको छैन ।’ ‘सेवा लिन मर्चवारबाट भैरहवा पुग्नुपर्ने र अधिक समय समेत खर्चिनुपरेको र कुनै कागज प्रमाणमा समस्या भए सो दिन सेवाबाट सेवाग्राही वञ्चित हुने गरेका छन्,’ वडाध्यक्ष खरबिन्दले भने । उक्त कार्यालयमा आवश्यक बजेट वडाबाट दिन तयार रहेको भन्दै छिट्टै कार्यालय प्रमुख व्यवस्थापन गरी सेवालाई निरन्तरता दिन उनले आग्रह गरे ।
मर्चवार क्षेत्रबासीहरुले जिल्ला प्रशासन कार्यालय भैरहवा सेवा लिन जान थालेपछि जिल्ला प्रशासन कार्यालयमा पुगेर काम गरेको कम्पयुटर अपरेटर विजय कुमार यादवले बताए । उनले भने,‘ईलाका प्रशासन कार्यालय मझगावाँबाट कार्यालय प्रमुख गएपछि अत्यावश्यक कामका लागि मर्चवारबासी जिल्ला प्रशासन कार्यालय भैरहवाबाट सेवा लिन जान थालेका छन् । त्यहाँ सेवाग्राहीको चाप बढेपछि सघाउनका लागि जिल्ला प्रशासन कार्यालय भैरहवा आएको छु मेरो सरुवा भएको छैन । मझगावाँमा सेवा सुरु हुनासाथ पुनः सोही कार्यालयमा फर्किनेछु ।’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले ईलाका प्रशासन कार्यालय मझगावाँमा सेवा सुचारु गर्न छिट्टै कार्यालय प्रमुख पठाउने बताए । उनले भने,‘त्यहाँ कार्यालय प्रमुख रुपमा खटी कामकाज सुचारु गर्न गृह मन्त्रालयमा ताकेता गरेको छु । उक्त कार्यालयमा हाजिर हुने दिन निश्चित भएको छैन । तर, छिट्टै कर्मचारी आउने आश्वासन पाएको छु ।’ कुनै अत्यावश्यक कार्य भए जिल्ला प्रशासन कार्यालय भैरहवाबाट सेवा लिन प्रजिअ घिमिरेले आग्रह गरेका छन् ।