मर्चवार । गाउँ–गलीमा तिहारको रौनक छ । घर आँगनमा सरसफाई र सिंगारपटारको काम थालिएको छ । पक्की घर भएकाहरूले रंग रोगन लगाइरहेका छन्, भने कच्ची घर भएकाहरूले पहेँलो र रातो माटोले भित्ताहरू सिंगारिरहेका छन् ।
तर मर्चवारका बैजनाथ कोहारको दिनचर्या अर्कै छ । सम्मरीमाई ७ भवनडिहवा बस्ने ४५ वर्षीय कोहारका परिवार माटोको पाला बनाउन व्यस्त छ । उनले भने, “हाम्रा लागी दियोको माग अत्यधिक छ, तर मिहनेत अनुसारको नाफा छैन ।’’
बिक्री मुल्य कम भए पनि माटोको मूल्य बढेको छ । उनले सरकारबाट कुनै सहयोग नपाएको र यस व्यवसायमा चासो कम हुँदै गएकोमा चिन्ता व्यक्त गरे । “आधुनिकताले माटाका भाडालाई विस्थापित गरिरहेको छ,’’ उनले भने ।
माटोको पालामा बत्ती बाल्ने पुरानो चलन अझै पनि कायमै रहेको हुँदा अहिले त्यसको माग पनि निकै बढेको छ । यद्यपी माटोको पालामा तेलबत्ति बाल्ने प्रचलनलाई आधुनिकता सँगै आएको विद्युतीय बत्तिले केही रुपमा प्रभाव पारे पनि पालामा बत्ती बाल्ने यो चलन जीवितै छ ।
बैजनाथ, उनका श्रीमती, १ छोरा र १ छोरी सहित ४ जनाको परिवार पाला (माटाको दियो) बनाउने ब्यस्त रहेको छन् । विगतको दिन भन्दा अहिले दियोको माग बढेपछि उनको परिवारको उक्त कार्यमा ब्यस्तता बढेको उनले बताए । तर दियोको माग अनुसारको नाफा हुन नसेको उनले दुःख समेत ब्यक्त गरे ।
उनले भने ‘बिगतको दिनमा दियो लगायत अन्य माटाका वर्तन तथा मुर्तीहरुको उत्पादन लागत कम थियो तर अहिले माटो समेत खरीद गर्नुपर्ने भएको हुँदा उक्त वस्तुहरुको उत्पादन लागत निकै बढेको छ । सरकारले हरेक क्षेत्रमा अनुदान दिएपनि हाम्रो ब्यवासय पेशमा न कुनै चासो न कुनै अनुदान दिएको छ ।’
आफुले उक्त पेशमा विगत २० वर्ष देखि रमाउदै आएको बताउदै आउने पिढीले उक्त पेशा तर्फ चासो नदिने उनले चिन्ता समेत ब्यक्त गरे । उनले भने ‘अहिले आधुनिकताले माटोका बर्तनलाई बिस्थापित गरिरहेको छ । जसले गर्दा यो ब्यवासयको आशामा परिवार पाल्न गाह्रो छ । आउने पिढीले अर्को ब्यवसायमा लाग्दा हाम्रो पुर्खौली पेशा नै धरापमा पर्ने अवस्था छ ।’ माटोको लागत, दाउरा, गोइठा, आफ्नो पारिश्रमिक, ढुवानी सहितको खर्च धेरै परेको छ तर अहिले पाला २ देखि ५ रुपैया सम्म मात्र बिक्री हुने गरेको उनले बताए । यस वर्ष उनी ५० हजार पाला बिक्रि गर्ने लक्ष्य राखेपनि ६० हजार भन्दा बढी पाला बिक्रि गरिसकेका छन् । तर सो अनुसार नफा कमाउन सकेनन् । उनले भने ‘मेहनत बढी छ, कमाई कम छ, तर खुसी छौ, यही पाला बनाएर जिविकोपार्जन भएको छ । तर पेशा बचाउन र निरन्तरताको लागी सरकारबाट अहिले सम्म कुनै सहयोग नभएको दुखेसो छ । कम्तिमा विद्युत मोटरबाट चल्ने एउटा चक्की सहयोग भए पनि राम्रो हुने थियो । ’
सोही गाउँका गाउँका १८ वर्षीय कमलेश कोहारको पनि दिनचर्या उस्तै छ । उनी पुस्तैनी पेशा जोगाउदै आफ्नो पढाईलाई निरन्तरता समेत दिएका छन् । मोटर चक्की नरहेको हुँदा हाथे चक्की चलाएर उनी तिहारको लागि पाला बनाउनमा ब्यस्त छन् । उनको पिडा पनि फरक छैन । उनी भन्दछन् ‘बाउ बाजेले सम्हालेको हाम्रो पुस्तैनी पेशालाई मैले पनि सम्हालेको छु तर मलाई पेशा संगै अध्ययनको पनि उती नै चिन्ता छ । सरकारले विभिन्न सीपको संरक्षण तथा प्रर्वधन गरिरहदाँ हाम्रो सीपको संरक्षण तथा प्रवर्धन तर्फ न स्थानीय सरकारको चिन्ता छ न प्रदेश र केन्द्रको ।’