मर्चवार न्यूज
मर्चवार, १३ कार्तिक/ सरकारले जारी गरेको भुमि सम्बन्धि नियमानुसार सम्मरीमाई गाउँपालिकाले भूउपयोग क्षेत्र बर्गिकरण (कित्ताकाट) सम्बन्धि मापदण्ड तयार गरेको छ ।
कृषि, आवास लगायतमा जग्गा वर्गीकरणको सम्पूर्ण कागजात तयारीपछि गाउँपालिकाले ईलाका मालपोत कार्यालय र ईलाका नापी कार्यालय मझगावालाई हस्तान्तरण गरेको छ । कागजातहरु मर्चवारको मझगावा स्थित ईलाका मालपोत कार्यालयका प्रमुख तिलक रावतलाई गाउँपालिकाका प्रमुख बिनोद कुमार श्रीवास्तवले हस्तान्तरण गरेका हुन ।
यससँगै रुपन्देहीको दक्षिणी क्षेत्र सम्मरीमाई गाउँपालिकाले वर्गीकरण गरेको सबै जग्गाको कित्ताकाट भोली कार्तिक १४ गते मंगलबारदेखि खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको गाउँपालिको सचिवालयले जनाएको छ ।
अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्ने छ । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय मझगाँवालाई पत्राचार गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राकेस कुमार चैधरीले जानकारी दिए । चौधरीले भने, “गत जेठदेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन् भने राजस्व समेत प्रभावित हुन पुगेको थियो ।”
गाउँपालिका प्रमुख बिनोद श्रीवास्तवले गाउँपालिकामा आफ्नो क्षेत्राधिकार भित्रको जग्गाहरुलाई कृषि क्षेत्रतर्फ, व्यवसायिक क्षेत्रतर्फ र आवासीय क्षेत्रतर्फ, औंद्योगिक क्षेत्रतर्फ, खानी तथा खनिज क्षेत्रतर्फ, वन क्षेत्रतर्फ, सार्वजनिक उपयोग क्षेत्रतर्फ, नदि खोला ताल सिमसार क्षेत्रतर्फ, साँस्कृतिक महत्वको क्षेत्रतर्फ आदि वर्गीकरण गरिएको जानकारी दिए ।