आज भाद्र कृष्ण पक्षको औंसी तिथि अर्थात कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिना को यस अमावस्या (औंसी )का दिन मनाइने पर्वलाई पिताजीको मुख हेर्ने अर्थात् बुवा दिवस को रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमा बाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण , दान , पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । कुश को विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश घरमा राख्नुमात्र पनि पवित्र मानिने हुँदा विहानै नुहाइ धुवाई शुद्ध भएर ब्राह्मणले कुश काटी हरेकका घर र कोठा कोठामा पुर्याउने गर्दछन् । यसरी ल्याइएको कुशलाई मूल ढोकाको माथि राख्ने प्रचलन छ । कुश पुर्याउन आउने व्राह्मणलाई टिका लगाइ दान दक्षिणा द्वारा पुरोहितलाई सम्मान गर्दछन् ।
कुशे औँसी का दिन हिन्दू धर्मावलम्वी हरू वर्ष भर देवकार्य तथा पितृकार्य मा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरू कुश , तुलसी , पीपल र शालिग्राम लाई भगवान विष्णुको प्रतीक मान्छन् ।आजको औशी तिथिलाई कुशे औशी पनि भनिन्छ । आजको दिनमा काटेके कुशलाई वर्ष भरी नै शुभ तथा अशुभ धार्मिक कार्यहरुमा प्रयोग गर्न सकिने मान्यता अनुरुप आज घर घरमा कुश राख्ने गरिन्छ । पौराणिक मान्यताअनुसार कुशलाई भगवान विष्णुको प्रतीकको रुपमा मानिन्छ । स्वर्गका राजा इन्द्रले भगवान विष्णुलाई स्वर्गबाट कुश दिएर पठाएको भन्ने मान्यता अनुसार आजको दिनमा भगवान विष्णुको सम्झना गर्दै कुशे औशी मनाउने प्रचलन बसेको पाइन्छ । हिन्दु परम्परामा तुलसी, शालीग्राम झैँ कुशलाई पनि भगवान विष्णुको अवतार मान्ने गरिन्छ । आज अर्थात भाद्र कृष्ण औशीको दिन काटिएको कुशलाई वर्ष भरी नै प्रयोग गर्न सकिने, अन्य औशीको दिन काटिएको कुशलाई महिना दिनसम्म प्रयोग गर्न सकिने र अन्य दिन काटिएको कुशलाई सोही दिनको धार्मिक कार्यमामात्रै प्रयोग गर्न सकिने मान्यता छ । गोकर्णेऔँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ ।
बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् । विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ-आफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठूलो घुइँचो लाग्छ । 'पितृदेवो भव : ' भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थल मा गई तर्पण तथा सिधादान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थ मा उल्लेख छ ।
धन्यवाद