भैरहवा, २० पौष । हुस्सु र कुहिरोले ढपक्कै ढाकेको पश्चिम तराईको भैरहवाको सडकमा बेला बेला झुल्कीने घामको उज्यालोसँगै सडकमा खटिने रन्जु के.सीको टिम कहिले विद्यालय त कहिले सडकमा देखिन्छ । १७ डिग्रीको मात्रै तापक्रम भएको मौसमी प्रतिकुलताको पर्वाह नगरी टाउकोमा सेतो ह्याट, निलो रङको सेतो लाईनीङ भएको पोशाकको काँधमा क्रस खुकुरीको बिल्ला सहित उनी दौडिरहेकी देखिन्छीन् । कठ्याङिग्रीदो जाडोको पर्वाह नगरी उनी बिहानैदेखि साँझ सम्म सडक र विद्यालयमा ट्राफिक शिक्षा बाडिरहेकी छन् ।
यसै हप्ता मात्रै उनले भैरहवाको काशि नोबल एकाडेमि स्कुल र भैरहवा नमुना उच्च माध्यामिक विद्यालयका विद्यार्थिहरुलाई २।२ घन्टा सडक दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको बारेमा पढाईन् । काशिमा कक्षा ११ का ३० जना भन्दा बढी विद्यार्थिहरु सहभागि थिए भने भैरहवा उच्च माविमा विज्ञान, आर्टस, कमर्स, शिक्षा संकायका ९४ जना विद्यार्थिहरु सहभागि भएका थिए ।
समय मिलाएर विद्यालयमा विभिन्न संघसंस्थाको समन्वयमा हुने ट्राफिक सचेतना सम्बन्धी गोष्ठिमा आफु जाने गरेको उनले बताईन् । उनले भनिन, ‘ट्राफिक सचेतना, सडक दुर्घटना न्यूनिकरण बारेमा विद्यार्थिहरुलाई सम्झाउन सके, बुझाउन सके त्यसको असर सडकमा देखिने हुन्छ । यसैले सडकसँगै विद्यालयहरुमा पनि कक्षा लिन थालेको हो । ’
ट्राफिक इन्सपेक्टर रन्जुको पढाउने शैलीले विद्यार्थिहरु पनि लाभान्वीत भएको भैरहवा नमुना उच्च माविका प्राचार्य चुन्न प्रसाद पान्डेले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यलय रुपन्देहीको कार्यलय प्रमुख समेत रहेकी उनलाई जिल्लाभरीको ट्राफिक व्यवस्थापन अर्को कार्यभार हो । जिल्लामा पाँच दर्जन भन्दा बढी सुरक्षाकर्मिको सडकमा खटनपटन पनि उनको जिम्मेवारी हो । शालिन र मिजाशिलो स्वभावकी २९ बर्षिय युवति रन्जुको काम गर्ने शैली पनि गज्जबको छ । उनको सडकमा हिड्ने यात्रुहरुसँगको व्यवहार पनि अनुकरणीय छ । मुस्कान सहितको सेवाको पर्याबाची बनिरहेकी छन यतिबेला रन्जु ।