मर्चवार १० जेठ/कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले स्थानीय तहमा न्यायिक समिति अब्बल भए गाउँमा न्याय पाएपछि गाउँ मै सिंहदरबारको अनुभुति हुने बताए । कोटहीमाई गाउँपालिकाद्वारा आयोजित न्यायिक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताहरुलाई ९ दिवसीय आधारभूत आलिमको बुधवार उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष त्रिपाठीले सो कुरा बताएका हुन् ।
‘हरेक सानातिना विवाद विभिन्न टोल बस्तीबाटै सुरु हुने गर्दछ, हरेक वडाबाट सहभागी भएका मेलमिलापकर्ताहरुले विवाद निवारण गरी सहमति गराउन सके तालिमको अर्थ र न्यायिक समितिको उपलब्धि हुने छ ।’ अध्यक्ष त्रिपाठीले भने । आफ्नो समाजका विभिन्न विवादहरु सहज र दुबै पक्षलाई चित्तबुझदो सहमति गराउन सके मेलमिलापकर्ताहरुको तालिमको सार्थक हुने अध्यक्ष त्रिपाठीले बताए । उनले भने ‘हाम्रो समाजमा अन्याय निकै सहज भएको र न्याय निकै महगों भएको छ । न्याय पाउन धेरै समय लाग्ने गरेको हुन्छ । सबैको जागरुक र न्यायलयको सक्रियताले भारत भन्दा नेपालमा छिटो न्याय पाइने गरेको छ ।’
कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादवले तालिममा सहभागीले उत्साहपुर्वक तालिम लिन आग्रह गरिन । समाजका विवादहरु निवारण गर्न तालिम प्राप्त गर्नेहरु कै प्रमुख भुमिका रहेको भन्दै समाजमा भइरहेको विवादलाई लक्षित गरी तालिम लिन र तालिमका प्रशिक्षकलाई तालिम प्रदान गर्न उनले आग्रह गरेकी थिइन् ।
कोटहीमाई गाउँपालिका भित्रका विवादहरु सहज रुपले निवारण गर्न तालिमको संचालन गरिएको न्यायिक समिति सदस्य हबीब खाँनले बताए । आदलत र प्रहरी सम्म पुगेका विभिन्न विवादले समय र आर्थिक दुबै खर्चिलो हुनेगरेको भन्दै स्थानीय क्षेत्रमा भएको विवादलाई स्थानीय तहमै समाधान गर्न उद्देश्यका साथ न्यायिक समिति गठन भएको उनले बताए ।
गाउँपालिकाको सम्पूर्ण वडाबाट २९ जना सहभागीलाई हेमा न्यौपानेले प्रशिक्षण गर्ने उक्त तालिमको औपचारिक कार्यक्रमलाई अजय सिंह क्षेत्रीले संचालन गरेका थिए ।